काठमाडौं– जग्गा खरिदको घोटालामा तानिएका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजिनामा दिने भएका छन्। बिहिबार पत्रकार सम्मेलन गरी उनले राजिनामा दिन लागेका हुन्।
निगममा रहँदा खरिद गरेको जग्गामा करोडौं अनियमितता भएको खुलेपछि उनीमाथि छानबिन भएको थियो। लगत्तै उनलाई मन्त्रालयमा तानिएको थियो।
जग्गा खरिदको विषयमा तत्कालीन संसदीय समिति र महालेखा परीक्षकको कार्यालयले समेत अनियमितता भएको टिप्पणी गरेका छन्। फिल्डमै खटिएको संसदीय समितिले निगमले चलनचल्तीभन्दा महँगो दरमा जग्गा खरिद गरेको, सार्वजनिक खरिद नियमावलीको प्रक्रिया अवलम्बन नगरेको र सार्वजनिक निकायका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने प्रक्रिया अवलम्बन नगरेको ठहर गरेको थियो। महालेखाले पनि आफ्नो वार्षिक प्रतिवेदनमा अनियमितता भएको र जग्गा खरिदमा सार्वजनिक जग्गा अधिग्रहण गर्नुपर्नेमा उक्त प्रक्रिया मिचेर व्यक्तिसँग खरिद गरिएको उल्लेख गरेको थियो। जग्गा खरिदवापतको लाभकर समेत छलेको महालेखाको प्रतिवेदनमा भनिएको थियो।
स्थानीय प्रचलनमा रहेकोभन्दा ४ गुणा बढी रकममा जग्गा खरिद गरेर १ अर्ब ६१ करोड रुपैयाँ भ्रष्टाचार गरेको संसदीय समितिहरुको अनुगमनमा देखिएको थियो। महालेखाले पनि अर्ब बराबरकै नोक्सान राज्यलाई भएको प्रतिवेदन दिएको थियो। अख्तियारको अनुसन्धान टोलीले पनि सोही बराबरकै बिगो कायम गर्ने सिफारिससहितको अनुसन्धानको फाइल निर्णयका लागि पठाएको थियो।
सरकारले निगमको कार्यकारी निर्देशकबाट खड्कालाई गत असोज २ गते बर्खास्त गरे पनि सर्वोच्च अदालतको आदेशले असोज २२ मा उनी पुनर्वहाली भएका थिए। वहाली लगत्तै उनलाई सरकारले आपूर्ति मन्त्रालयमा हाजिर गराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।