गौशाला– महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको २४ लाख रुपैयाँ बराबरको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, जलसागर, महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताए।
गएराति करीब ८ बजेतिर बीआर ०७ एबी ४९१८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकार्इछिपार्इ नेपालबाट भारत बिहारको मधुबनी जिल्ला लैजाँदै गरेको अवस्थामा सुराकीको आधारमा सशस्त्र प्रहरी निरीक्षक उमेश आलेमगरको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले युवक ठाकुरलाई मटिहानी नगरपालिका–३ स्थित आवरचोकमा चेकजाँच गर्दा उनी सुन र चाँदीसहित पक्राउ परेका हुन्।
युवक ठाकुरको साथबाट प्रहरीले २४ लाख रुपैयाँ मूल्य पर्ने २० किलो चाँदी र २ सय ग्राम सुन बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए।
त्यस्तै, युवकको साथबाट एक थान मोबाइल र मोटरसाइकलसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
अवैध सुन र चाँदीसहित पक्राउ परेका युवक ठाकुरलाई सुन, चाँदीसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय, पथलैया पठाइएको सशस्त्र प्रहरी जिल्ला कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।