काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कैलाली चिसापानीको कर्णाली नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाको निरीक्षण गरेका छन्।
बुधबार आयोजनाको मुहान क्षेत्रमा पुगेका ऊर्जामन्त्री पुनले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र समन्वय गर्न प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गरे। उनले मन्त्रालयका तर्फबाट सहजीकरण र सहयोग गर्न सरकार तयार रहेको बताए।
कर्मचारीलाई कामको आधारमा दण्ड र पुरस्कार हुने उल्लेख गर्दै मन्त्री पुनले कामको गुणस्तरको विषयमा कुनै सम्झौता नहुने बताए। मन्त्री पुनले समयमै काम नसक्ने ठेकदारलाई कारबाही समेत गरिने चेतावनी दिए।
मन्त्री पुनले बुधबार नै बर्दियास्थित राजापुर सिँचाइ आयोजनाको पनि निरीक्षण गरे। यसअघि उनले बाँकेको अगैयास्थित सिक्टा सिँचाइ आयोजनाको बाँध तथा नहर, बर्दियाको भेरी–बबइ डाइभर्सन, पश्चिम राप्ती जनताको तटबन्धनको प्रगतिको जानकारी लिएका थिए।
रानीजमरा आयोजनाको हाल चिसापानीमा इन्टेक तथा लिंक नहर निर्माण सम्पन्न भएको, चिसापानीदेखि बलचौरसम्म मूल नहर तथा सेटलिङ बेसिन निर्माण र कटासेदेखि मोहनासम्म फिडर नहर निर्माण सम्पन्न भएको छ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना निर्माणका लागि सरकारको ६ अर्ब र विश्व बैंकको ६ अर्ब गरी १२ अर्ब रुपैयाँको लगानी छ।
आव २०६४/६५ मा शुरू भएको सो आयोजना आव २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य थियो। तर, म्याद थप गरी २०७६/०७७ मा निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट कैलालीका पथरैया, मुनुवा, टीकापुर, नारायणपुर, धनसिंहपुर लगायतका क्षेत्रमा २५ हजार हेक्टरभन्दा बढी जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुनेछ। आयोजनाबाट ४ दशमलव ८ मेगावाट विद्युत समेत उत्पादन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।