काठमाडौं– सिन्धुपाल्चोकको सुकुटेमा सुनकोसी नदीको बालुवा झिक्ने क्रममा एक क्रसर उद्योगको स्काभेटर नै पानीमा डुबेको छ।
नदीमा डुबेको स्काभेटर क्रेनमार्फत तानेर निकालिएको थियो। दिनरात नदी उत्खनन गर्दै आएको क्रसर उद्योगले आफैंले खनेको खाल्डोमा आफ्नै स्काभेटर डुबेको हो।

इन्द्रावती, भोटेकोसी र सुनकोसी नदीमा पछिल्ला केही वर्षमा क्रसर उद्योग फस्टाएको छ। जिल्ला समन्वय समिति र स्थानीय सरकारसँगको मिलेमतोमा क्रसर उद्योगले मापदण्ड विपरीत नदीको बहावमै स्काभेटर लगेर खन्दै आएका छन्।
मापदण्ड विपरीत क्रसर सञ्चालन
मेलम्चीको इन्द्रावती नदी किनारमा मात्रै आधा दर्जन क्रसर उद्योग सञ्चालनमा छन्। ती सबै मापदण्ड विपरीत सञ्चालन हुँदै आएका छन्। सरकारले क्रसर सञ्चालन गर्दा राजमार्ग तथा खोला किनारबाट ५ सय मिटर टाढा र वन तथा आरक्षण क्षेत्रबाट दुई किलोमिटर टाढा हुनुपर्ने मापदण्ड तोकेको छ। तर, राजमार्ग तथा नदी किनारमा जोडेरै क्रसर सञ्चालन गर्दा पनि सिन्धुपाल्चोक घरेलु उद्योगले सञ्चालनको स्वीकृति दिएको छ।
क्रसरले बनाएको दहमा डुबेर बालकको मृत्यु
मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा गंगा इन्द्रावती नामक क्रसर उद्योगले बनाएको कुलोमा डुबेर गत बैसाख ७ गते एक बालकको मृत्यु भएको थियो। स्थायी घर भोजपुर भई मामाघर मेलम्ची नगरपालिका–१२ गिरानचौर आएका ११ वर्षीय कर्साङ तामाङको डुबेर मृत्यु भएको थियो।
यसअघि पनि क्रसरले बनाएको खाल्डोमा परी चारभन्दा बढी बालबालिकाले ज्यान गुमाइसकेका छन्।
अनुगमन नै गर्दैनन् स्थानीय सरकार
मेलम्ची नगरपालिकाले मापदण्ड विपरीत क्रसर सञ्चालन गरेको पाइए अनुगमन गरी कारबाही गर्न समिति गठन गरे पनि अहिलेसम्म अनुगमन गरेको छैन। क्रसरले अवैधरुपमा उत्खनन र नियमविपरीत सीधै नदीमा स्काभेटर प्रयोग गर्दै आए पनि स्थानीय सरकारले अहिलेसम्म क्रसर व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन।
पटकपटक नगरपालिकालाई जानकारी गराउँदा पनि अनुगमन गर्ने भन्दै टार्ने गरेको स्थानीयले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।