काठमाडौं– विकास बैंकका सहायक कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्ने माग डेभलपमेन्ट बैंकर्स एसोसिएसनले गरेको छ। एसोसिएसनले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरी उक्त माग गरेको हो।
विकास बैंकलाई पनि सहायक कम्पनी खोलेर धितोपत्र दलाल व्यवसायीको काम गर्न दिनुपर्ने मागसहित एसोसिएसनले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको जनाएको छ।
धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ६२ मा रहेको व्यवस्था अनुसार आफूहरुले पनि सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय गर्न पाउनुपर्ने मार्ग संघले गरेको हो।
विकास बैंकहरु कम्पनी ऐन २०६३ अनुसार स्थापना भई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत लिई बैंकिङ सेवा प्रदान गर्दै आएका छन्।
राष्ट्रियस्तरका विकास बैंकहरूको औसत चुक्ता पुँजी तीन अर्ब ४० करोड रुपैयाँ नाघिसकेको र विकास बैंकहरूले एक हजार बढी शाखाबाट करिब ४१ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको एसोसिएसनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।