काठमाडौं– मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा १ लाखभन्दा बढी आवेदन परेको छ।
कम्पनीको आईपीओमा मागभन्दा तीन गुणा बढी आवेदन परेको सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ। कम्पनीककाे सेयरमा १ लाख १ हजार २८ जना आवेदकबाट १ करोड ९३ लाख २५ हजार ७ सय ८० कित्ताका लागि आवेदन परेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्कासन गरेको थियो।
आयोजना प्रभावित क्षेत्रका १० हजार ८ सय ४८ जना आवेदकबाट २६ लाख ७५ हजार ४ सय ९६ कित्ताको लागि आवेदन परेको क्यनपिटलले जनाएको छ।
सिन्धुपाल्चोक भरका ९० हजार १ सय ८० आवेदकबाट १ करोड ६६ लाख ५० हजार २ सय ८४ कित्ताको लागि आवेदन परेको जनाइएको छ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत सेयर निष्काशन गरेको हो। जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिकाको वडा नं. १ र ५ (साविक लिस्ती र साविक मार्मिङ), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ र साविक मानेश्वरा)मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि १८ लाख कित्ता साधारण सेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७० प्रतिशत ले हुन आउने ४२ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।