जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलितहरुको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
राष्ट्रिय दलित नेटवर्क र दलित जनकल्याण युवा क्लबले आज जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले दलितहरुको समृद्धिबिना प्रदेशको समृद्धि सम्भव नरहेको उल्लेख गरे।
हातमा हात बाँधेर अधिकार पाउन नसक्ने बताउँदै मुख्यमन्त्री राउतले आफ्नो अधिकारका लागि हात उठाएर अघि बढ्न दलित अगुवाहरुलाई आग्रह गरे।
सदियौंदेखि दलितमाथि हुँदै आएको विभेद अझै कायमै रहेको बताउँदै उनले प्रदेश सरकार प्रदेशलाई छुवाछूत र विभेद मुक्त बनाउन कटबद्ध रहेको बताए।
कार्यक्रममा दलित अगुवा युक्तिलाल मरिकलाई बलदेव दास मानव मर्यादा पुरस्कारले सम्मानित गरिएको थियो।
विनोदकुमार विसुन्केको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य सुनिता राम, सुन्दर विश्वकर्मासहित प्रदेशभरिका दलित अगुवाहरुको उपस्थिति थियो।
कार्यक्रममा प्राडा महादेव साहले दलितहरुको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।