काठमाडौं- १ लाख २० हजार घुससहित पक्राउ परेका डिभिजन सडक कार्यालय नुवाकोटका इञ्जिनियर लालसिंह ऐरीलाई विशेष अदालतले सफाइ दिएको छ।
न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनलाई निर्दोष ठहर गरेको हो।
७ लाख ६४ हजारमा ठेक्का पाएर सडक मर्मतको काम सम्पन्न भएपछि कार्यालयबाट रकम भुक्तानी लिन आएका ठेकेदारसँग इञ्जिनियर ऐरीले घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो। २०७२ असार ८ गते अख्तियारले मुद्दा दायर गरेको थियो।
विशेषले अख्तियारले घुस लिएको आरोप लगाए पनि इञ्जिनियरले अस्वीकार गरेको भन्दै सफाइ दिने फैसला सुनाएको हो।
अदालतमा झुटो बयान दिएको आरोपमा १५ दिनपछि भ्रष्टाचार मुद्दा दायर गरिएका सविर राईलाई पनि विशेषले सफाइ दिएको छ। उनले अदालतमा दिएको बयानका आधारमा दोषी ठहर गर्न नमिल्ने भन्दै विशेषले सफाइ दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।