काठमाडौं- मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन दोहोरो अंकले घटेको पुँजीबजार मापक परिसूचकमा आज सुधार आएको छ। आइतबार २४.५७ अंकले घटेको नेप्से आज सामान्य अंकले बढेको हो।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमा सेयर धितोमा ऋण दिने व्यवस्थामा कडाइ गर्दै वार्षिक १२ करोडको सीमा तोकेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको थियो। लगानीकर्ताहरुले उक्त प्रावधान हटाउन माग गरिरहेका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५.७५ अंकले बढेर ३१६०.०९ विन्दुमा उक्लिएको छ। आज कारोबार रकम भने घटेको छ।
नेप्सेमा आज कूल १५ अर्ब ९३ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नेप्सेमा हालसम्मकै उच्च २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भइ रेकर्ड बनेको थियो।
आज कूल २२७ वटा कम्पनीका दुई करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर एक लाख ५९ हजार ९३ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा उक्लिएको छ।
आज पाँचवटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। आईसीएफसी फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.२७ प्रतिशतका दरले गुमाएका छन्।
आज नेसनल हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै ७४ करोड ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। संख्यात्मक आधारमा सनराइज फर्स्ट म्युच्युअल फण्ड अगाडि रह्यो। उक्त फण्डको सबैभन्दा धेरै २२ लाख एक हजार ४४५ कित्ता र युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सेयर सबैभन्दा धेरै २३ हजार २०८ पटक किनबेच भएका थिए।
आज विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य र व्यापार उपसमूहबाहेक सबै उपसमूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।