काठमाडौं- नेपाल स्टक एक्सचेन्जका कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेर गल्ति गरेको स्वीकारेका छन्।
नेप्सेका सीईओ साउदले सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेकाबारे संसद्को अर्थ समितिमा प्रश्न उठेको थियो। स्वार्थ बाझिने गरि सेयर किनेको विषयको जवाफ लिन समितिले साउदलाई बोलाएको थियो।
नेप्सेमा सूचीकृत कम्पनी नभएकाले सेयर किनेको उनले स्पष्टीकरण दिए। ‘प्राइमरी मार्केटमा आएको कम्पनी होइन। नेप्सेले सूचीकृत कम्पनीको मात्रै नियमन गर्ने हो। नेप्से दोस्रो बजारको प्लेटफर्म बनाउने शुद्ध निकाय हो’, आफ्नो बचाउ गर्दै साउदले भने, ‘रेगुलटरी सेकेण्डरी मार्केट बाहेक अन्य कुनै पनि संस्थाको संस्थापक सेयरर हुन कुनै बाधा हुँदैन। त्यसै अन्तर्गत त्यो सेयरको कारोबार भएको हो।’
प्रचलित प्रावधानले उक्त सेयर खरिद गर्न अधिकार दिएको उनको दाबी छ। नियमन गर्ने निकायको उच्च तहमा रहेको व्यक्तिको नैतिकतामाथि समिति सदस्यहरुले प्रश्न उठाएका थिए।
कानुनी प्रावधानमा 'लुप होल' खोज्ने कार्य साउदले गरेको भन्दै केही सांसदले उनले सेयर खरिद गर्न नपाउने तर्क गरे। नैतिकताको आधारमा पनि पदीय जिम्मेवारी लिएका व्यक्ति बाँधिनुपर्ने उनीहरुको भनाइ थियो। इन्साइड ट्रेडिङको आशंकामा साउदले स्पष्टीकरण दिँदै भने, ‘यो त प्रमोटर सेयर हो। तीन वर्षसम्म यो सेयर खरिद बिक्री गर्न पाइँदैन। यसमा इन्साडर ट्रेडिङको कुनै आधार नै हुँदैन।’
सांसदहरुले उनको नैतिकतामा प्रश्न उठाएपछि आचारसंहिता छुट्टै बनाउने समितिमा जानकारी दिए। सर्वोत्तमको सेयर किनेकोमा आफूलाई पश्चाताप भने भएको उनले समितिमा बताए। ‘रिग्रेट फिल त मलाई भएको छ। प्रश्न उठ्दैन भनेर नै मैले सेयर किनेको हुँ। आफ्नो नियम के छ, त्यसैको आधारमा कोड अफ कडक्टमा रहने हो। अब यस्ता कार्य हुन दिने छैनौं’, साउदले भने।
अबका दिनमा प्रश्न उठ्ने ठाउँबाट एक कोष टाढै रहने साउदको प्रतिवद्धता छ। साउदले श्रीमतीको नाममा सर्वोत्तमको सेयर खरिद गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।