काठमाडौं- नेपालको सेयर बजारमा नयाँ मौद्रिक नीतिको नकारात्मक प्रभाव देखिएको छ। मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको हो। तर, कारोबार रकममा भने नयाँ रेकर्ड बनेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिमा सेयर धितोमा ऋण दिने व्यवस्थामा कडाइ गर्दै वार्षिक १२ करोडको सीमा तोकेको थियो। जसअनुसार बैंक तथा वित्तीय संस्थाले एक वर्षभित्र एक जनालाई सेयर धितोमा १२ करोड रुपैयाँभन्दा बढी ऋण प्रवाह गर्न पाउने छैन। यसैको प्रभाव आज सेयर बजारमा देखिएको हो। सेयर लगानीकर्ताहरुले उक्त प्रावधान हटाउन माग गरिरहेका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४.३४ विन्दुमा ओर्लिएको छ।
नेप्सेमा आज कूल २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो नेप्सेमा भएको हालसम्मकै उच्च कारोबार हो।
आज कूल २२२ वटा कम्पनीका तीन करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर एक लाख ८९ हजार ७३६ पटक खरिद-बिक्री भएका थिए।
आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.८० अंकले घटेर ५८९.३७ विन्दुमा ओर्लिएको छ।
आज खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८.५४ प्रतिशतका दरले गुमाएका छन्।
आज नेपाल बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। संख्यात्मक आधारमा पनि नेपाल बैंक नै अगाडि रह्यो। उक्त बैंकको सबैभन्दा धेरै १९ लाख ७५ हजार ९०८ कित्ता सेयर सबैभन्दा धेरै आठ हजार ५५० पटक किनबेच भएका थिए।
आज लगानी, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्सबाहेक सबै उपसमूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।