बुटवल– कृषिमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको सिन्डिकेट हटाउने बताएका छन् ।
बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले कृषि क्षेत्रमा व्यापक सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाएरै छाड्ने बताएका हुन्। कृषिको लागि आवश्यक मल, कीटनासक विषादी लगायतका कुरा सिन्डिकेटकै सञ्जालभित्र रहेको उनले बताए।
‘मालपोत, नापी, वकिलदेखि अदालतसम्म जोडिएको दलालको सञ्जाल छ’, उनले भने।
जग्गा दलालको गिरोहले गर्दा रुपन्देहीमा यही दरमा जग्गाको कारोबार भइरहेमा अबको १० वर्षभित्र सबै वस्तु किनेर खानुपर्ने अवस्था आउनेतर्फ कृषिमन्त्रीले सजग गराए। उनले यस्तो समस्याले रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रमा ठूलो रुप लिएको बताए।
कृषिमन्त्री खनालले देशको अधिकांश जग्गा दलालको हातमा रहेको भन्दै दलालको मनपरीले जमिन ध्वस्त भएको दाबी समेत गरे।
उनले सरकारले कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना र नीति बनाउन लागेको पनि उल्लेख गरे। भूमि सम्बन्धी ऐन, भू–उपयोग नीति लगायत बनाएर कृषियोग्य जमिन बचाउन ठोस कदम चालिने उनले बताए। उनले जग्गाको उपभोग व्यवस्थित गर्न २५ प्रकारमा वर्गीकरण गरिएको समेत उनले जानकारी दिए।
कृषिका लागि हरियो लालपुर्जा बनेको बताउँदै मन्त्री खनालले सो लालपुर्जाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको लागि समेत सहुलियतको व्यवस्था गरिने उल्लेख गरे।
अंशबन्डाको नाममा कित्ताकाँट रोक्ने भन्दै उनले नीतिबाहिरको अंशबन्डा रोक्न पहल गर्ने बताए। देशमा १ लाख २१ हजारको संख्यामा जग्गाका मोहीहरु रहेको बताउँदै उनले मोही हटाउने दाबी समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।