काठमाडौं- तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेसँगै राष्ट्रपति असरफ घानीले आत्मसमर्पण गरेका छन्।
राजधानी काबुल जोगाउन युद्ध गर्न नसक्ने भएपछि उनी ‘शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण’ गर्न तयार भएका हुन्।
अफगानिस्तानका कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले तालिबानले आफ्ना लडाकूहरुलाई काबुल प्रवेशमा रोक लगाउन आदेश दिए संक्रमणकालीन सरकारलाई ‘शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण’ गरिने बताए।
‘अफगान जनता चिन्ता नगर्नुहोस्। शहरमा कुनै हमला हुने छैन र संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनेछ,’ उनले एक रेकर्डेड सन्देशमा भने।
शनिबार देशवासीको नाममा सम्बोधन गरेसँगै राष्ट्रपति घानीले राजीनामा दिने आकलन गरिएको थियो। तर, उक्त सम्बोधन उनले सत्ता हस्तान्तरण गर्ने कुनै संकेत दिएका थिएनन्।
सम्बोधनको क्रममा उनले भनेका थिए, ‘मेरो ध्यान मेरा नागरिकलाई अस्थिरता, हिंसा र विस्थापनबाट जोगाउनुमा केन्द्रित छ।’
तर, काबुलमा तालिबान पसेसँगै अमेरिकाका राष्ट्रपति जो वाइडेनले थप रक्तपातबाट बच्ने राजनीतिक सम्झौता गर्न घानीलाई आग्रह गरेका थिए। उनको आग्रहसँगै घानी सत्ता हस्तान्तरणको लागि तयार भएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।