काठमाडौं– देशभर ९७.८९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ। यो गत वर्षको भन्दा चार हजार हेक्टर कम क्षेत्रफलमा रोपाइ भएको विभागको तथ्यांक छ।
नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा साउन २८ गतेसम्म १३ लाख ४२ हजार ८१९.९४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ। गत वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेफलमा रोपाइ भएको थियो।
गत वर्षको तुलनामा प्रदेश २ मा कम भएको छ। समयमै रोपाइँ भएसँगै यस वर्ष ६० लाख मेट्रिक टन धान उत्पादन हुने कृषि मन्त्रालयको अनुमान अनुमान छ। गत आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ।
प्रदेश नम्बर १ मा ९६.८६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ। प्रदेश १ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको विभागको तथ्यांक छ, जसमध्ये दुई लाख ६७ हजार १४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। यही अवधिमा गत वर्ष ९५.८८ प्रतिशत रोपाइँ भएको थियो।
प्रदेश २ मा ९६.८ प्रतिशत रोपाइँ भएको छ। त्यहाँ ३ लाख ६५ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। यस वर्ष लगभग तीन लाख ५३ हजार ९०२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ। गत वर्ष यही अवधिमा ९९.०२ प्रतिशत रोपाइँ भएको थियो। यस वर्ष गत वर्षको तुलनामा केही कमि आएको छ।
बागमती प्रदेशमा ९८.०८ प्रतिशत धान रोपाइँ सकिएको विभागको तथ्यांक छ । बागमती प्रदेशमा एक लाख १५ हजार २ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यो वर्ष एक लाख १३ हजार ८२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको विभागले जनाएको छ। त्यस्तै बागमती प्रदेशमा गत वर्ष ९७.८५ प्रतिशत रोपाइँ भएको थियो।
यसैगरी गण्डकी प्रदेशमा ९८.६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । एक लाख ८२ हजार ७८ हेक्टर क्षेत्रफल धान खेती हुने गरेकोमा यो वर्ष गण्डकी प्रदेशमा एक लाख ६८ हजार १० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। गत वर्ष गण्डकी प्रदेशमा ९७.६८ प्रतिशत मात्र धान रोपाइँ भएको थियो।
लुम्बिनी प्रदेशमा ९८.९५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्कमा उल्लेख छ। तीन लाख ३५ हजार ९३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा यो वर्षमा तीन लाख ३९२.०२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। यही समयमा गत वर्ष लुम्बिनी प्रदेशमा ९८.६६ प्रतिशत रोपाइँ भएको थियो।
कर्णाली प्रदेशमा शतप्रतिशत नै रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ। कर्णालीमा तीन लाख ८३ हजार ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। गत वर्ष यही समयमा कर्णाली प्रदेशमा ९८.५३ प्रतिशत रोपाइँ भएको थियो ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा ९९.०६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। सो प्रदेशमा एक लाख ६४ हजार १७० हेक्टर क्षेत्रफलमध्ये एक लाख ६३ हजार ९७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।