काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
अर्थमन्त्री खतिवडाले निजी आवास पुनःनिर्माणको काममा ढिलाइ गरेकोमा प्राधिकरणप्रति असन्तुष्टि जनाएका हुन्। बुधबार प्राधिकरणले आयोजना गरेको निजी आवास पुनःनिर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले आवास पुनःनिर्माणको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिए पनि सो अनुसारको काम हुन नसकेको बताए।
अर्थमन्त्री खतिवडाले जमिनको उचित व्यवस्थापन, गुठी लगायतको समस्या समाधान गरेर काठमाडौं उपत्यकाभित्रको निजी आवास पुनःनिर्माणको कामलाई अगाडि बढाउन प्राधिकरणलाई सचेत पनि गराए। उनले जनप्रतिनिधिहरुलाई पनि निजी आवास पुनःनिर्माणको काममा सक्रियतापूर्वक सहभागी हुन आग्रह गरे।
अर्थमन्त्री खतिवडाले पुनःनिर्माणको कामका लागि आवश्यक कार्यविधि बनाउन सरकार तयार रहेको पनि स्पष्ट पारे। एक वर्षभित्र निजी आवास पुनःनिर्माणको काम सम्पन्न गरिसक्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षमा १ सय ५१ अर्ब बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री खतिवडाले वैदेशिक अनुदान सहायताबाट पुनःनिर्माणका लागि ऋणस्वरुप लिइएको रकम दुरुपयोग नगरी पारदर्शी ढंगले काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।