काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुले सबै विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन्।
केन्द्रीय कार्यसमितिको तेस्रो दिन शनिबार जारी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीहरुलाई तत्काल उपलब्ध गराइ सबै तहको परीक्षा सञ्चालनमा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्। खोपको अभावमा विद्यार्थीहरुले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न उनीहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बैठकमा नेताहरुले ईपीएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरुलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए। पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेका युवाहरुलाई तत्काल कोरिया जाने अवस्था मिलाउन पनि सरकारलाई नेताहरुले आग्रह गरेको पनि प्रवक्ता शर्माले बताए।
भूतपूर्व गोर्खा सैनिकहरुले बेलायतमा विभिन्न माग राखेर धर्ना दिइरहेकाले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल गर्न पनि सरकारलाई नेताहरुले दबाब दिएका थिए। अफगानिस्तानमा रहेका नेपाली युवाहरुको जीवन सुरक्षाका लागि पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेस केन्द्रीय सदस्यहरुले आग्रह गरेका थिए।
‘अफगानिस्तानमा पछिल्लो जे घटना भइरहेको छ। त्यो घटनामा नेपालबाट गएका नेपालीहरु कामको क्रममा त्यहाँ हुनुहुन्छ। उहाँहरु कसैको पनि जीवन जोखिममा नपरोस्। त्यहाँ रहेका नेपालीहरुको अवस्था के छ? र, आवश्यक पर्यो भने सरकारले उनीहरुलाई प्रक्रिया पुर्याएर उद्धार गर्न गम्भीर बन्नुपर्दछ भनेर सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण पनि गराउनुभएको छ,’ प्रवक्ता शर्माले भने।
बैठकमा नेताहरुले पार्टीको आसन्न महाधिवेशनको कार्यतालिका, सरकारको प्रभावकारितालगायतका विषयमा पार्टी नेतृत्वलाई सुझाव दिएक थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।