काठमाडौं- साहित्यकार तथा लेखक रचना मोक्तान तामाङको कविता संग्रह 'थोर्बा दोखाङ' सार्वजनिक भएको छ। तामाङ भाषामा लेखिएका कविताहरुको उक्त संग्रह शनिबार राजधानीमा सार्वजनिक गरिएको हो।
तामाङ डाजाङको नियमित साहित्यिक शृङ्खलामा भाषा आयोगका उपसचिव डा. लोकबहादुर लोप्चन, तामाङ लोक सम्राट चन्द्रबहादुर मोक्तान, लेखक इन्द्र थिङ तामाङ र डाजाङका अध्यक्ष फूलकुमार बम्जनले संयुक्त रुपमा संग्रह सार्वजनिक गरेका थिए।
संग्रहमा ५१ वटा कविता समावेश छन्। प्रगतिशील धारका साहित्य लेखनमा सक्रिय उनको यो पहिलो कृति हो।
समारोहमा बोल्दै उपसचिव डा. लोप्चनले तामाङ भाषामा लिखित कविता कृतिले तामाङ भाषालाई समृद्ध बनाउन टेवा पुग्ने बताए। तामाङ विद्यार्थीहरूको बाहुल्यता भएका विधालयहरूमा तामाङ मातृभाषामा पठनपाठन गर्न उक्त कृति सन्दर्भ सामग्री हुने र विश्वविद्यालय तहसम्मै तामाङ भाषा पठनपाठनका लागि आधारशीला हुने उनको भनाइ थियो।
पत्रकार तथा समीक्षक मायालु ङेसुरले कृतिमा संग्रहित कविताहरू जीवन संघर्ष, मार्क्सवादी दर्शनसँगै १० बर्षे जनयुद्धपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रपछि योद्धाहरूलाई बेवास्ता गरिएको, महिलाका मुद्दा, अन्तरजातीय प्रेम, गरिबीका कारण विदेशिने नेपालीले भोग्नुपरेका भाषिक समस्या र तामाङ संस्कृतिको सजिव चित्रण रहेको बताइन्। कवितामार्फत् कवि यात्रीले उत्पीडित समुदायका दबिएको आवाजलाई गम्भीरतापूर्वक उठाएको उनले उल्लेख गरिन्।
अर्का समीक्षक मुक्तान थेबाले कृतिमा समाविष्ट कविताहरूमा तामाङ सौन्दर्यता आएको बताए। शिल्प र कलाको दृष्टिले केही कविता शक्तिशाली रहेको उनको भनाइ थियो।
टिप्पणीकार थिङले रचनाका कविताहरू शक्तिशालीसँगै प्रगतिवादप्रति दृढ रहेको टिप्पणी गरे। संग्रहित कविताहरू समाजको प्रतिछाँया मात्रै नभइ आन्तरिक राष्ट्रियता कमजोर हुँदा भएको विद्रोहको चेतना भएको बताए। तर, कवितामा तामाङ भाषा संरक्षणको नाममा सन्देशको अस्पष्टता देखिएको उनले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।