बाँके– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन निर्माणाधीन राष्ट्रिय गौरवका सहित सिंचाइ आयोजनाको प्रगति बुुझ्न देश दौडाहामा हिँडेका छन्।
मन्त्री पुनले मंगलबार बाँकेको अगैयास्थित सिक्टा सिंचाइ आयोजनाको बाँध तथा नहरको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री पुुनले आयोजना प्रमुखसँग आयोजनाको काम–कारबाहीबारे जानकारी लिनुका साथै निर्धारित समयमै काम सक्न गर्न निर्देशन समेत दिए।
नहरको काम सम्पन्न भएको ठाउँमा क्रमिक रुपमा किसानलाई पानी दिने तयारी रहेको मन्त्री पुनले बताए।
यसअघि उनले बर्दियाको भेरी–बबइ डाइभर्सन, पश्चिम राप्ती जनताको तटबन्धनको प्रगतिको जानकारी लिएका थिए। मन्त्री पुुनले भेरी–बबइ डाइभर्सनका मजदुरहरुसँग पनि छलफल गरेका थिए।
उनले राप्तीपारिका समस्याबारे आफू जानकार रहेको भन्दै विद्युत्, सिँचाइ र तटबन्ध विस्तारलाई उच्च प्राथमिकतामा राखेको बताए।
ऊर्जामन्त्री पुनले वर्षौदेखि समस्याका रुपमा रहेको विद्युत, सिंचाइ र तटबन्धको समस्या समाधान गर्न गुरुयोजना तयार पारिएको र छिटै स्थानीयहरुले अनूभूति गर्नेगरी प्रतिफल प्राप्त गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रदेश ५ की प्रदेशसभा सदस्य कृष्णा केसीले राप्तीसोनारी र नरैनापुरको अवस्थाबारे मन्त्री पुनलाई ज्ञापनपत्रमार्फत जानकारी गराएकी थिइन्। उनले गाउँपालिकामा विद्युतको समस्या रहेको भन्दै तत्काल विद्युत् लाइन विस्तारका लागि पहल गरिदिन आग्रह समेत गरिन्।
ज्ञापनपत्र बुझ्दै मन्त्री पुनले सम्बन्धित पक्षलाई द्रुत गतिमा काम गर्न निर्देशन दिएका थिए। मन्त्री पुुन बिहीबार मात्र काठमाडौं फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।