बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकासका काम गर्दा वातावरणप्रति ख्याल गर्नुपर्ने बताएका छन्।
विश्व वातारवण दिवसका अवसरमा मंगलबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मानव प्राणीका लागि सहज वातावरण आवश्यक पर्ने भएकाले वातावरणप्रति सबै सचेत बन्नुपर्नेमा जोड दिए। वातावरणको मुख्य पक्ष पानी भएको भन्दै पोखरेलले प्रदेश ५ को सरकार हरेक हिसाबले वातावरणप्रति सचेत रहेको बताए।
विश्वको तापक्रम बढ्दै गएको र पानीका मुहानहरु सुक्दै गएकाले वातावरणलाई सन्तुलनमा राख्नुपर्ने उनको भनाइ थियो।
वातावरणलाई सन्तुलित राखेर समृद्धिको दिशामा अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बसाइँसराइ र बसोबासलाई व्यवस्थित गर्नुपर्ने बताए। मानव बस्ती र सडकहरुलाई कसरी हरियाली बनाउन सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले सोचिरहेको पनि उनले जानकारी दिए।
यस्तै, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले वातावरण जस्तो संवेदनशील विषयमा गम्भीर हुनुपर्ने बताए। पर्यावरणको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उनले बताए।
नेपाल पत्रकार महासंघ रुपन्देही, मानव अधिकार आयोग र नेपाल वातावरण पत्रकार 8को संयुक्त आयोजनामा भएको कार्यक्रममा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार लक्ष्मण पोखरेललाई सम्मान गरियो। पत्रकार पोखरेललाई २५ हजार नगदसहित सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।