विराटनगर– सरकारले सुरु गरेको विद्यालय भर्ना अभियानलाई सहयोग गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले पनि विपन्न मजदुरका छोराछोरीको अभिभावकत्व ग्रहण गर्दै उच्च शिक्षाका लागि सहयोग गर्ने भएको छ।
पहिलो चरणमा सय जना मजदुरका छोराछोरीलाई नि:शुल्क उच्च शिक्षा प्राप्त गर्ने वातावरण मिलाइने र क्रमशः बृहत् योजना अघि बढाइने संगठनले जनाएको छ। केन्द्रीय अध्यक्ष भीम ज्वाला राईका अनुसार संगठनका शाखा कमिटीहरु मार्फत देशैभरि अभियान सञ्चालन गर्न लागिएको हो।
विपन्न मजदुर वर्गका बालबच्चा उच्च शिक्षा लिनबाट वञ्चित हुनु नपरोस् भनेर संगठनले अभियान सुरु गरेको राईले बताए। अभियान अन्तर्गत देशभर रहेका कुल २ सय ९७ वटा शाखामार्फत कम्तीमा एक जनाको दरले २ सय ९७ जना मजदुरका छोराछोरीको शिक्षाका लागि संगठनले काम गर्ने उनको भनाइ छ।
धरान शाखामार्फत अभियानको सुरुवात गरिएको छ। स्वर्गीय पेमा तामाङ (कालु) की छोरी रिजा तामाङलाई स्थानीय युरेका आवसीय उच्च माविमा नि:शुल्क उच्च शिक्षाका लागि व्यवस्था मिलाएको संगठनका धरान अध्यक्ष कमल भट्टराईले बताए।
वार्षिक ४५ हजार बराबरको शुल्क संगठनले बेहोर्ने गरी अध्ययनको व्यवस्था मिलाइएको उनको भनाइ छ। वैदेशिक रोजगारका क्रममा २०७३ बैसाख २१ गते पेमाको मृत्यु भएपछि रिजाको पढाइमा समस्या उत्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।