तस्वीर : बीबीसी सम्झना राईसँग भेटघाट गर्नका लागि ११ वर्षअघि उनका हुनेवाला श्रीमान् दक्षिण कोरियाबाट नेपाल पुगेका थिए। त्यो भेटघाट सम्झनाको आफन्तले मिलाइदिएकी थिइन्। नेपाल पुगेको तेस्रो दिन उनीहरुले भेटे। अनि त्यही वर्ष दक्षिण कोरियाका लागि उडे।
सम्झनाले ती कोरियाली पुरुषसँग बिहे गरिन्। नेपालमा अवसरहरु सीमित भएका कारण युवाहरु काम गर्न वा बिहेका लागि विदेशिनु असामान्य नभएको सम्झनाले बीबीसीलाई बताएकी छिन्। अहिले उनी दक्षिण कोरियाको प्रहरी अधिकृत भएकी छिन्।
तर, उनी कोरियामा सम्झना राई भनेर चिनिन्नन्। उनले नयाँ नाम पाएकी छिन्, किम हाना। उनको नाम प्रहरीमा भर्ति हुनुअघि नै परिवर्तन भइसकेको थियो। ३१ वर्षीया सम्झनाले कोरियाको नागरिकता पाउँदा नै कोरियन नाम राखिएको हो।
अन्य जन्मजात कोरियनको तुलनामा कतिपय कोरियालीले आफूलाई उत्तम प्रहरी नभएको मान्न सक्ने सम्झना बताउँछिन्। तर, त्यतातिर सोच्ने आफूलाई समय नभएको उनको भनाइ छ। उनले बीबीसीसँग भनेकी छन्, ‘जब म युनिफर्म लगाउँछु र कम्मरमा बन्दुक बोक्छु, मलाइ लाग्दैन कि म कोरियनजस्तो नदेखिएर कसैलाई समस्या हुन्छ।’
दक्षिण कोरिया पुगेपछि विश्वविद्यालय पढ्न जाँदा भेटिएका नेपाली साथीहरुसँग सम्झना (दायाँ)। तस्वीर : बीबीसीउनी वैदेशिक मामिला अधिकृतको रुपमा कार्यरत छिन् र नेपाली तथा कोरियन समुदायबीच पुलको काम गरिरहेकी छन्। धेरै नेपाली कामका लागि कोरिया जाने गरेका छन्। नेपाल र कोरिया सरकारबीच सम्झौता भएर ईपीएस प्रणालीमार्फत कामका लागि कोरिया जाने नेपालीको संख्या धेरै छ।
दक्षिण कोरियाली सरकारले सन् १९९० देखि त्यहाँका पुरुषलाई विदेशी महिलासँग विवाहका लागि प्रेरित गर्ने नीति नै बनाएको थियो। खासगरि ग्रामीण भेगका पुरुष, जसले आफ्ना लागि उपयुक्त युवती भेटेका हुँदैनन्, उनीहरुलाई विदेशी बिहे गर्न प्रेरित गरिएको थियो।
तर, यसरी कोरिया पुगेका आप्रवासी महिलालाई त्यहाँ सजिलो भने छैन। कतिपयले घरेलु हिंसा भोगेको र दुर्व्यवहारमा परेको उजुरी दिने गरेका छन्। भाषिक समस्या पनि यसको कारण बनेको छ। तर, कतिपय भाषासमेत नसिकी जानेहरुले भने दक्षिण कोरियाली समाजमा महत्वपूर्ण स्थान पनि बनाइरहेका छन्।
पूर्वी र दक्षिण एसियाबाट ‘आप्रवासी श्रीमती’का रुपमा कोरिया जानेहरुलाई उतैबाट माग आउँछ। त्यसपछि श्रीमानलाई ‘बिक्री’ गरिएझैँ बिहे हुन्छ, जुन विभेद हो। खासगरी भियतनाम, फिलिपिन्स र दक्षिण एसियाली देशबाट महिलाहरु बिहे गरेर दक्षिण कोरिया गएका छन्।
सम्झनासँग पनि कोरियामा विभेद सहनु परेको अनुभव छन्। ‘मेरो छोरो सानो हुँदाको एउटा घटना सम्झन्छु, म बस चढ्दै गर्दा एउटा मान्छेले चिच्याउँदै भनेको थियो– भियतनामी, आएर मेरो छेउमा बस!’ सम्झनाले भनिन्। विदेशी पत्नीका रुपमा कोरियालीहरुले सबैभन्दा बढी भियतनामी युवती भित्र्याएका छन्। विदेशी पत्नीमध्ये एकतिहाइ भियतनामी छन्। उनलाई पनि ती कोरियनले भियतनामी नै ठानेका थिए।
कोरियन समाजमा अहिले विविध समुदायका मानिसहरुको जनसंख्या बढिरहेको छ। सन् २००८ देखि कोरियन सरकारले नै बहुसांस्कृतिक सहयोग केन्द्रहरु स्थापना गरेको छ। ‘अहिले कोरियामा विदेशी समुदाय ठूलो छ र मैले मेरो ड्युटीको बेला फरक–फरक मान्छेहरु भेटिरहेको हुन्छु,’ सम्झनाले भनेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।