|
अनिल पोखरेल, सीईओ विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
फर्केर हेर्दा हिमालय क्षेत्रले यति ठूलो 'डेब्री फ्लो' बेहोरेको थिएन। यसले ठूलो धनजनको क्षति भएको छ। हेलम्बुदेखि दोलालघाटसम्मको अध्ययन सुरु भएको छ। यो स्थान एयरपोर्ट जत्रो छ। हिजो (शनिबार) रातीबाट पानी परेर बग्न थालेको र चनौटेको रातो पुल बगाएको देखिन्छ।
अहिलेसम्म कति ल्यायो भन्ने यकिन भन्न सकिने अवस्था छैन। ठुलोमात्रामा त्यहाँ जम्मा भएको पहिरो (लेदो) झर्ने क्रम भने सुरु भएको छ। मेलम्ची वढ्ने क्रम चलिरहेको छ।
डा विष्णु पाण्डे, प्राध्यापक पुल्चोक क्याम्पस
अहिले पानीको मापन गर्ने यन्त्र नहुँदा यकिन तथ्याङ्क छैन। ‘क्लाउड बस्ट’हैन भन्ने निष्कर्षमा हामी पुगेका छौं। एकै ठाउँमा पानी परेको हैन भन्ने नाकोतोको मापनबाट भन्न सकिन्छ।
धेरै पानी परेको छ, तर यो नै हो भन्न सकिँदैन। इसिमोडले गरेको अध्ययनको रिपोर्ट हेर्दा चारवटा हिमताल छन्। हिमताल फुटेको हो कि भन्ने अनुमान पनि गरिएको छ।
‘ल्याण्डस्लाइड’ हो कि भन्नेमा पनि शंका छ। पानीले मात्रा यत्रो ठूलो लेदो ल्याएको हैन भन्ने देखिन्छ। पानी खोलासम्मको ‘स्लोप’का कारण धेरै उर्जा उत्पन भएर धेरै कारणले प्रभाव परेर बाढीले यो विनास गरेको देखिन्छ।
डा वसन्तराज अधिकारी पुल्चोक क्याम्पस
हिमालय पर्वत श्रृंखलामा हेर्दा सामान्यतया जहाँ हिउँ जमेर ताल बसेको हुन्छ, त्यसको मुनि बस्ती रहेको ठाउँ हुन्छ। धेरै ठाउँमा पुराना पहिरोको अवशेष भेटिन्छ। यो पुनर्ताजगी भएर आएको देखिन्छ। माथिको समथर क्षेत्रमा धेरै पहिला पहिरो गएको हुनसक्ने देखिन्छ। अहिले त्यहाँ माटो र भिरालो जमिन देखिन्छ। त्यहीँ भएको माटोलाई पानीले खोल्ने क्रम सुरु भएको छ। यसले छेउमा काटेर आएको देखिन्छ।
पानीको सहत बढिरहेको छ। यसलाई दुई प्रकारले बुझ्न जरुरी छ। पहिलो माथिल्लो तहबाट आएको पानी तलसम्म आउँदा धेरै उर्जा भएर आएको देखिन्छ। दोस्रो उक्त क्षेत्रबाट धेरै पानी आउँदा त्यसले वरिपरि (किनार) क्षेत्रलाई पनि प्रभाव पारेको देखिन्छ।
शिवकुमार बास्कोटा, खानी तथा भूगर्भ विभाग
पहिला उक्त क्षेत्रमा ठूला हिमताल रहेको र यो विस्तारै सुक्दै गएको तस्वीरबाट देखिन्छ। हिमनदीले ल्याएका सामाग्रीहरु त्यहाँ थुप्रेको देखिन्छ। २०० मिटर उचाइ र २ किलोमिटरसम्मको चौडाइ देखिन्छ। योनै अहिलेको भ्रेमाथाङ हो। केही समय पहिरो गएर थुनिएको हुनसक्छ।
टारमा पहिरो गएर थुनिएरपछि एकैपटक बगेको पनि हुनसक्छ। यो ठाडो भएकाले यसको शक्ति हुन्छ। नदी किनारामा कटान पनि यही रुपमा भएको छ। चनौटमा आइपुग्दा मेलम्ची नदी २ डिग्रीमा आएको छ। यो धेरै बग्न नसकेका कारण लेदो थुप्रिँदै गएको देखिन्छ। इन्द्रावती नदी पनि ठूलो आउँदा मेलम्ची रोकिएको थियो। जसका कारण बजारमा क्षती पुग्यो।
राजेन्द्र शर्मा, हाइड्रोलोजिस्ट, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण
अब के गर्ने भन्ने कुरा आएको छ। पहिलो कुरा ज्यान र त्यहाँको संरचना जोगाउने हो। त्यहाँ केही थान जाली लगाइएको छ। तर, त्यसले थेग्नसक्ने देखिँदैन। भत्केका घर र बाटोहरु पुनःनिर्माण गर्नुपर्ने अवस्था छ।
बेलाबेला अझै पनि लेदो आइरहेको छ। यो कहिलेसम्म बग्ने हो विस्तृत अध्ययन जरुरी छ। त्यहाँ झरेर क्याम्प खडा गरेर अध्ययन गर्नुपर्ने देखिन्छ। बस्ती त्यही ठाउँमा बसाउने कि हटाउने भन्नेमा अध्ययन गरेर सुझाव दिन जरुरी छ।
मेलम्ची खानेपानीको भविष्य के हुने? यो कालान्तरमा पनि झरि राख्ने देखिएको छ। यो नसकिएसम्म झरिरहन्छ र कहिलेसम्म भन्ने यकिन छैन। यसलाई खुलाउन सकिँदैन। पानीको स्रोत नै अर्को खोज्नुपर्ने हो कि भन्ने देखिएको छ।
निमा लामा, प्रदेश सांसद हेलम्बु
लेदो सहितको बाढी भ्रेमाथाङबाटै आएको भन्ने तथ्य पछि पत्ता लाग्यो। मनाङमा जसरी असार १ गते गयो त्यस्तै भएको थियो। हिमाली क्षेत्रमा केही गलत भइरहेको अनुमान हामीले गरेका थियौं। यसको कारण के हो भनेर पत्ता लगाउन जरुरी छ। माथिको पत्ता नलागेसम्म तलका बस्तीबारे केही निर्णय लिन सकिँदैन। अझै पनि ढुक्क हुने अवस्था छैन। मेरो अनुरोध अझै पनि कारण पत्ता लगाएर पूर्वाधार र बस्तीका काम गर्न जरुरी छ।
|