काठमाडौं- भारतको मेदान्त अस्पतालमा उपचार गरेर स्वदेश फर्केका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या बल्झेपछि पुन: उपचारका लागि भारत लगिएको छ।
भारतबाट फर्केको २४ घन्टा नबित्दै पुनः स्वास्थ्यमा समस्या आएपछि घिमिरेलाई आइतबार बिहान ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो। ग्रान्डीको हाइकेयर युनिटमा उपचार गराइरहेको घिमिरेलाई परिवारकै आग्रहमा थप उपचारका लागि भारत लगिएको हो। ग्रान्डी अस्पतालबाट आज बिहान ९ बजे एम्बुलेन्सबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको थियो।
घिमिरेसँग ग्रान्डी अस्पतालको आइसियुमा कार्यरत डाक्टर रोहितकुमार चौधरी पनि सँगै भारत गएका छन्।
घिमिरेलाई बाइल्याट्रल निमोनिया देखिएको छ। उनको दिसामा रगत देखिने समस्या पुनः देखिएपछि डाक्टरसहितको टोलीलाई भारत पठाइएको अस्पतालले जनाएको छ।
उनको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार हुनेछ। घिमिरेलाई मेदान्तबाट शनिबार मात्र काठमाडौं ल्याइएको थियो।
स्वास्थ्यमा समस्या आएपछि घिमिरेलाई गत बैसाख २८ गते धापासीस्थित ग्रान्डी अस्पताल भर्ना गरिएको थियो। आन्तरिक रक्तश्राव नरोकिएपछि उनलाई थप उपचारका लागि जेठ ९ गेत मेदान्त अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सक डा रणवीर सुदको टोलीले उनको उपचार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।