काठमाडौँ- नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले ‘विश्व वातावरण दिवसका अवसरमा प्रदान गर्ने ‘वातावरण पत्रकारिता पुरस्कार’ सन् २०१७ का लागि दि काठमाडौं पोस्ट दैनिकका संवाददाता चन्दनकुमार मण्डल र अन्नपूर्ण पोस्ट दैनिकका संवाददाता छेटु शेर्पालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ।
समूहले तीन दशकयता वर्ष जुन ५ मा विश्व वातावरण दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्दै आएको छ। सन् २०१७ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनोट गरेर यो पुरस्कार प्रदान गरिएको समूहले जनाएको छ।
यो पटक विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता भएका लेखहरुको मूल्याङ्कन गर्दा दुवै पत्रकारहरुको बराबरी अङ्क आएकाले यो संयुक्त रुपमा दिने निर्णय भएको हो।
वरिष्ठ पत्रकार राजेन्द्र दाहाल संयोजक, पत्रकार तथा कार्यसमिति सचिव शारदा रिजाल र कार्यसमिति विज्ञ सदस्य तथा वातावरणविद् सूर्यमान शाक्य रहेको छनोट समितिले संकलित सामग्रीको मूल्याङ्कन गरेको थियो।
पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।