भैरहवा– भैरहवामा २२ वर्षीय एक युवकको आफ्नै घरमा हत्या गरिएको छ।
आइतबार राति खाना खाएर आफ्नो कोठामा सुतेका सिद्धार्थनगर नगरपालिका ८ अञ्चलपुरका २२ वर्षीय सतिश साहनीको सोमबार बिहान हात–खुट्टा बाँधिएको अवस्थाको शव भेटिएको प्रहरीले जनाएको छ।
रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्याम ज्ञवालीले साहनीको हात–खुट्टा प्लास्टिकको डोरीले र मुख प्लास्टिकले बाँधी हत्या गरिएको पाइएको बताए। उनका अनुसार, घरको माथिल्लो तलामा मृतक साहनीे एक्लै र भुइँतलामा उनका दाजुको परिवार बस्नेगरेको प्रहरीले जनाएको छ।
मृतक सुत्ने कोठाको भित्रबाट चुकुल लागेका कारण झ्यालबाट कोठामा पसी हत्या गरेर भागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा पाइएको एसपी ज्ञवालीले बताए।
मृतकको शवलाई पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको छ। हत्या कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।