नुवाकोट– ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण बनाएका छन्।
लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इन इञ्जिनियिरङ अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सर लगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण आविस्कार गरेका हुन्।
उक्त उपकरण लिखु गाउँपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीसमेत गरिएको छ। अध्ययनका क्रममा सिकेको सीपलाई अभ्यासको माध्यमबाट व्यवहारमा उतार्न सफल भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले जानकारी दिए।
'बट्टारस्थित शुभेनियर बोर्डिङ स्कुलबाट २०७२ सालमा एसएलसी उत्तीर्ण गरेका लिखु गाउँपालिकाका विद्यार्थी मात्र क्बलमा आबद्ध छौं,' अध्यक्ष पाण्डेले भने, 'विद्यालय तह, १० जोड दुई र हाल डिप्लोमा इन इञ्जिनियरिङ अध्ययनका क्रममा पाठ्यक्रममा उल्लेखित विषयवस्तुको सहयोगले नयाँ उपकरण बनाउन सफल भएका हौं।'
क्लबमा आबद्ध युवा विद्यार्थीले निर्माण गरेका राति आफैं बल्ने र दिउँसो आफैं निभ्ने बत्ती, सेन्सरमार्फत चल्ने स्वचालित धारो र स्वचालित पानी तान्ने उपकरण, हाइड्रोलिक डोजर, विद्युतीय नियन्त्रक उपकरण लगायतका प्रविधि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ।
'ड्रोनको निर्माण अन्तिम चरणमा पुगेकाले अब परीक्षणका क्रममा छ, तर सञ्चालन तथा उपयोगका लागि कानुनी समस्याले ढिलाइ भइरहेको छ,' पाण्डेले भने।
२१ प्रकारका नयाँ उपकरण निर्माण गर्न ५ लाख रुपैयाँ खर्च भएको र त्यसमा केही लिखु गाउँपालिकाले समेत सहयोग गरेको पाण्डेले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।