विराटनगर– बर्डफ्लुको हल्ला चलेपछि धरानमा आयातीत कुखुरामा प्रतिबन्ध लगाइएको छ। काठमाडौं र चितवनमा कुुखुरामा बर्डफ्लु फेला परेको हल्लापछि यस्तो रोक लगाइएको हो।
कुखुरा व्यवसायी तथा सरोकारवालाहरुले धरान बाहिरबाट कुखुरा आयतमा रोक लगाउने निर्णय गरेका छन्। पशु सेवा केन्द्र धरानको संयोजनमा कुखुरा व्यवसायी, डिलर, किसान, मासु व्यवसायी लगायतको संयुक्त बैठकले धरानमा कुखुरा आयातमा रोक लगाउनले निर्णय गरेको हो।
अर्को निर्णय नभएसम्म कुखुरा आयातमा रोक लगाउने निर्णय भएको धरान मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङले जानकारी दिए।
निर्णयको बोधार्थ जिल्ला पशुसेवा कार्यालय र इलाका प्रहरी कार्यालय धरानलाई समेत बुझाइएको छ। उपभोक्ता र व्यवसायीको हितलाई ध्यान दिएर धरानका मासु व्यवसायी, पोल्ट्री फर्म र उपभोक्तावादी संघ सस्थाको छलफलबाट अर्को निर्णय नहुन्जेलका लागि कुखुरा लगायत अन्य पन्छी आयातमा रोक लगाइएको पशु भेटनरी प्राविधिकहरुको सञ्जाल ट्रोलिभ नेपाल धरानका अध्यक्ष अध्यक्ष दिलकुमार लामिछानेले जानकारी दिए।
बर्डफ्लु नदेखिए पनि अन्यत्रबाट कुखुरा आयात गर्दा खतरा हुने कुरालाई ध्यान दिँदै सतर्कता अपनाइएको उनको भनाइ छ।
धरानमा नेपालका विभिन्न स्थान लगायत भारतीय सीमानाका जोगमनी, भण्टावारी, हरिनगरा लगायतका स्थानबाट अवैध रुपमा भारतीय कुखुरा आयात हुँदै आएको थियो। लामिछानेका अनुसार, धरानमा ६० प्रतिशत कुखुरा बाहिरबाट आयात हुँदै आएको थियो।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले भने क्वारेन्टाइन चेकपोष्टबाट निरोगिताको प्रमाणपत्र भएका कुखुरालाई आयातमा रोक नलगाइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।