काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सात वटै प्रदेशमा प्रदेश कार्यालय स्थापना हुने भएको छ।
सिटिइभिटीलाई संघीयता अनुरुप प्रदेश स्तरमा लैजानका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैंठकले ७ वटै प्रदेशमा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो।
आइतबार बसेको बैंठकले प्रदेश कार्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन, नीतिगत र कानुनी व्यवस्थाबारे छलफल गर्न निर्देशन दिएको छ।
संघीयता अनुरुप अन्य निकायको ढाँचा तयार भए पनि सिटिइभिटीको संघीय स्वरुप तयार भएको थिएन।
अहिले सिटिइभिटीको केन्द्रीय कार्यालय सानोठिमी भक्तपुरमा छ भने चितवनको भरतपुर, सुनसरीको इटहरी र बाँकेको कोहलपुरमा क्षेत्रीय कार्यालय छन्।
यस्तै, सिटिइभिटी अन्तर्गत नै राष्ट्रिय सीप परीक्षण समिति, परीक्षा नियन्त्रण कार्यालय र प्राविधिक प्रशिक्षण प्रतिष्ठान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।