लहान– बेरुजु रकम बढ्दै गएपछि जिल्ला वन कार्यालय सिरहाले नियमन र असुल–उपरमा कडाइ गरेको छ।
आर्थिक वर्ष २०७३/०७४ सम्ममा बेरुजु रकम कुल १ करोड २५ लाख रुपैयाँ पुगेपछि कार्यालयले नियमन र असुलीमा जोड दिएको हो। प्रक्रिया सुरु गरेको एक साताभित्रै ४५ लाख रुपैयाँ बेरुजु असुल–उपर भएको जिल्ला वन अधिकृत (डिएफओ) सुनिलकुमार सिंहले जानकारी दिए।
८० लाख रुपैयाँ बेरुजु अझै बाँकी रहेकाले नियमनका लागि आवश्यक कारबाही सुरु गरिएको उनले बताएका छन्। बेरुजु राखेका कतिपय कर्मचारी मरिसकेको, कतिपय सेवा निवृत्त भएको र कतिपय कर्मचारी सरुवा भएर अन्यत्र गएकाले असुल तथा नियमनमा केही समय लाग्न सक्ने डिएफओ सिंहको भनाइ छ।
‘मरिसकेकाको हकमा उसको परिवार र जीवितै रहेकाको हकमा सम्बन्धित व्यक्तिलाई नै पत्राचार गरेका छौं’, सिंहले भने, ‘जतिसक्दो चाँडै बेरुजु अंकलाई शून्यमा झार्ने हाम्रो लक्ष्य छ।’
बेरुजु छानबिन तथा नियमन गर्न आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र जिल्ला वन कार्यालयका कार्यालयका प्रतिनिधि सम्मिलित टोली पनि गठन भएको कार्यालयले जनाएको छ। कागजपत्र हराएको, प्रमाण नष्ट भएको तथा नियमन हुनसक्ने र नसक्ने विषयमा टोलीले नै अन्तिम निचोड निकाल्ने उनले जानकारी दिए।
जिल्ला वन कार्यालयका अनुसार, अधिकांश बेरुजु रकम रासन शीर्षकमा र केही रकम कार्यालय सञ्चालन लगायतका शीर्षकमा पनि देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।