रसुवा– गोलभेडामा देखिएको टुटा रोगको प्रकोप नियन्त्रणका लागि रसुवामा अभियान सुरु गरिएको छ।
जिल्लाका किसानले लगाएको गोलभेडामा टुटाको प्रकोपको क्षति हुन थालेपछि जिल्ला कृषि विकास कार्यालय रसुवाले अभियान थालेको हो। जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा रहेका किसानले लगाएको गोलभेडामा पात तथा फल जोतुवा कीरा अर्थात् टुटाको प्रकोप फैलिएपछि अभियान सुरु गरिएको कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले बताए।
‘टुटा नियन्त्रणका लागि विषादी वितरण, जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने र प्रविधि सहयोग लगायतको कार्य गरिरहेका छौं’, उनले भने।
टुटा प्रभावित क्षेत्रका किसानलाई अल्कोरा, टुटा ट्र्याप, टुटा ल्युर, ट्रेसर, बिटी, एल्लो स्ट्रकी ट्र्याप वितरण गरिएको समेत तिवारीले बताए।
गोलभेडामा टुटाको प्रकोप देखिएसँगै कार्यालयले पहिलो चरणमा गोलभेडा खेतीको अवस्थाबारे कृषक समूह र कृषि सहकारी मार्फत तथ्यांक संकलन गरिएको थियो। अभियानमूलक समस्या निदान तथा टुटा व्यवस्थापन कार्यक्रम जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा सञ्चालन गरिएको थियो। कार्यक्रममा कालिका तथा नौकुण्ड गाउँपालिकाका १ सय ४ र उत्तरगयामा १ सय ५ किसान सहभागी भएका बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए।
टुटाले गोलभेडा, भन्टा, खुर्सानी र आलुमा समेत क्षति पु¥याउने कृषि प्राविधिकहरुले बताएका छन्। टुटा व्यवस्थापनका लागि आइपिएम पद्धति अपनाउन सुझाव दिइएको बागवानी विकास अधिकृत पाठकले बताए। टुटाको कारण यस वर्ष जिल्लामा गोलभेडा उत्पादन घट्ने सम्भावना उच्च रहेको कृषि विकास कार्यालय रसुवाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।