काठमाडौं– गैरकानुनी रुपमा थुनामा राखेर जबरजस्ती चेक कटाउन लगाएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंविरुद्ध एक व्यवसायीले गृह मन्त्रालयमा उजुरी दिएका छन्। व्यवसायी अनिल गजमेरले आइतबार मन्त्रालयमा उजुरी दिएका हुन्।
गजमेरलाई लेनदेनसम्बन्धि विवादमा जेठ ६ गते काठमाडौं प्रहरीले पक्राउ गरेको थियो। म्यानपावर व्यवसायी राधिका कटवालको दबाबका आधारमा प्रहरीले पक्राउ गरी ४५ लाख रुपैयाँ चेक काट्न लगाएको व्यवसायी गजमेरको दाबी छ।
आफुहरुबीच लेनेदेन विवाद रहेको र त्यसमा पाटन उच्च अदालतले पहिले नै फैसला गरिसकेकोमा सोही मुद्दामा आफुलाई पक्राउ गरी एक रात थुनेर कटवालको नाममा चेक काट्न लगाई जबरजस्ती कागज गराएको गजमेरले बताए।
सो प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अनुसन्धान गर्न निर्देशन दिएका छन्। परिसरका अधिकारीहरुसँग आइतबार नै उनले साधुपुछ गरेको स्रोत बताउँछ। गृहमन्त्रीकै निर्देशनमा गजमेरले मन्त्रालयमा लिखित निवेदन दिएका छन्। सोही अनुसार परिसर माथि मन्त्रालयले छानबिन थालेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।