काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका सांसद तथा पूर्वमन्त्री प्रभु साहले बजेट बाँडफाँट न्यायसंगत नभएको बताएका छन्।
संसदमा प्रस्तुत बजेटमाथि धारणा राख्दै साहले प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन नमिलेको बताए।
‘सिन्द्धान्तत: दुईमा दुई जोड्दा चार हुनुपर्ने हो, तर निचोड अर्कै देखिएको छ’, उनले भने।
साहले जनताले आफ्नो बजेटको रुपमा लिएर स्वामित्व ग्रहण नगरेमा कार्यान्वयनमा समस्या आउनसक्नेतर्फ पनि उनले ध्यानाकर्षण गराए।
‘बजेटको कार्यान्वयनतर्फभन्दा सांसदहरु मन्त्रालय छिर्ने कामतिर बढी लागेका छन्', ’उनले भने, ‘बजेट कार्यान्वयनका लागि आम जनताको सहभागिता बढाउनुपर्छ।’
सांसद साहले दुई-चार जना कोठामा बसेर बनाएको बाँडफाँटले देश निर्माण नहुने धारणा राखे। गरिब र पिछडिएकाहरुका लागि जनता आवास कार्यक्रम अमूर्त देखिएको भन्दै उनले अमूर्त चिजहरु केन्द्रले सञ्चालन गर्ने तरिकाले सही दिशामा नजाने पनि बताए।
सांसद साहले बाढीपीडितहरुको विषयमा बजेट विभेदकारी रहेको भन्दै विनियोजित बजेटप्रति असन्तोष प्रकट गरे। उनले त्रिभुवन विमानस्थलको चाप घटाउन निजगढ विमानस्थल निर्माण गर्न लागिए पनि उक्त आयोजना निर्माणलाई प्राथमिकता दिएको नदेखिएको भन्दै चिन्ता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।