नेपाली खेलकुदको खास चरित्र छ। एक समयमा कुनै खेल लोकप्रिय बन्छ, र कालान्तरमा हराएर जान्छ। लोकप्रियता हासिल गरेपछि सम्बन्धित निकायले खेल विकासमा वास्ता नगर्दा यस्तो हुने गरेको छ।
भलिबल खेल पनि यस्तै उतारचढावबाट गुज्रिरहेको छ। भलिबलले राष्ट्रिय खेलको मान्यता पाएपछि यसको लोकप्रियता फेरि बढेको छ। अन्य खेलभन्दा फरक चाहिँ पुरुष र महिलाकै भलिबल लोकप्रिय छ। नीजि क्षेत्रसमेत लगानीका लागि तानिन थालेका छन्।
नेपालको सन्दर्भमा पुरुषभन्दा महिला भलिबलको चर्चा धेरै हुन्छ। नेपाली महिला टोलीले दक्षिण एसियाली खेलकुद (साग) को आठौँ, दशौँ र बाह्रौँ संस्करणमा तीनपटक कास्य जितिसकेको छ। सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पिनयसिपमा पनि नेपाली महिला टोलीले रजत पदक जितेको थियो।
२०७६ सालमा भने नेपाली महिला टोलीले लगातार सफलता पाएपछि चर्चा चुलियो। त्यति बेला एक महिनाको फरकमा नै दुई सफलता हात परेका थिए। उक्त वर्ष कात्तिकमा बंगलादेशमा भएको सात राष्ट्र सम्मिलित महिला सेन्ट्रल जोन भलिबलको उपाधि नेपालले जितेको थियो। लयमा देखिएको टोलीले त्यही वर्ष मंसिरमा घरेलु कोर्टमा भएको १३औं सागमा रजत पदक जित्यो। फाइनलमा पहिलो सेट गुमाए पनि दोस्रो र तेस्रो सेट जितेर नेपाल अगाडि बढेको थियो। तर, चौँथो र पाँचौँ सेटमा लय भेट्न सकेन। फाइनलमा हारे पनि महिला टोलीले प्रशंसा पाएको थियो।
दक्षिण एसियामा अधिकांश मुस्लिम देश भएका कारण महिलालाई खेलकुदमा सहभागी गराउँदैनन्। त्यसैले नेपालले कमजोरहरुसँग खेलेर जितेको भन्ने आरोप पनि थियो। दुई प्रतियोगितामा गतिलो प्रदर्शन गरेपछि नेपाल भलिबल संघले महिला टोलीलाई एसियन च्याम्पियनसिपमा पठाउने निर्णय गर्यो। महिला टोलीका लागि एसियाका ‘पावर हाउस’सँग खेल्न पाउनु एउटा अवसर थियो। तर, अन्तिम समयम आएर कोरोना महामारीका कारण नेपाललाई प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरिएको छ।
खेलाडी छनोट भइसकेपछि निराशाजनक खबर
एसियन च्याम्पियनसिपमा १६ टाेलीले भाग लिने तय भएको थियो। तर, कोरोना महामारीको कारण देखाउँदै आगामी १३ देखि २० भदौसम्म हुने टुंगो लागेको प्रतियोगिता चीनले नगर्ने घोषणा गर्यो। त्यसपछि फिलिपिन्सले प्रतियोगिता आयोजनाको जिम्मेवारी पायो।
महामारीका कारण अप्ठ्यारो परिस्थिति भएको भन्दै एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले १५ जुनसम्म सहभागिता पक्का गर्न वा नाम फिर्ता लिन ती देशलाई समय दिएको थियो। चीनसहित इन्डोनेसिया, श्रीलंका, भियतनाम र न्यूजिल्याण्डले नाम फिर्ता लिए। एभीसीले नेपालसहित १२ टाेली समावेश गरेर प्रतियोगिता गराउने निर्णय गर्यो। प्रतियोगितामा नेपालसहित फिलिपिन्स, इरान, अष्ट्रेलिया, भारत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, कजाकस्तान, ताइपेई, उज्वेकिस्तान र हङकङले भाग लिने पक्का भएको थियो।
च्याम्पियनसिपमा सहभागी हुन करिब रु.१ करोड ५० लाख खर्च हुने एनभीएको अनुमान थियो। यसका लागि संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लगायत सहयोगी संस्थाहरुसँग आर्थिक सहयोग पनि मागेको थियो।
च्याम्पियनसिपमा सहभागी हुन करिब रु.१ करोड ५० लाख खर्च हुने एनभीएको अनुमान थियो। यसका लागि संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लगायत सहयोगी संस्थाहरुसँग आर्थिक सहयोग पनि मागेको थियो।
प्रतियोगिता हुने निश्चित भएपछि एनभीएले उपत्यका बाहिर रहेका खेलाडीलाई बोलाएर प्रशिक्षण थाल्यो। गत चैतमा राखेपकै कभर्ड हलमा आयोजना गरेको आरबीबी भलिबल लिग प्रतियोगिताको प्रदर्शनका आधारमा २७ खेलाडी प्रशिक्षणमा सहभागी थिए। त्यसबाट १८ खेलाडी पनि छनोट भइसकेका थिए। अब अन्तिम १४ खेलाडी छनोट गर्ने तयारी हुँदै गर्दा शुक्रबार आएको खबरले महिला टोलीलाई निराश बनाएको छ।
एभीसीले अब च्याम्पियनसिपमा आठ टाेली मात्र सहभागी गराउने भएको छ। नेपालसहित भारत, हङकङ र जापानले अवसर गुमाएका छन्। यसको कारण कोरोना महामारीको जोखिम नै हो। विभिन्न राष्ट्रले नेपाललाई महामारीको ‘रेड जोन’मा राखेका छन्। यसै कारण कतिपय राष्ट्रले नेपाली नागरिकलाई प्रवेश दिएका छैनन्।
एनभीएका सचिव मनवीर छन्त्यालका अनुसार कोरोनाको नयाँ भेरियन्टको जोखिमको कारण अतिसंवेदनशील क्षेत्र भएको भन्दै नेपाललाई प्रतियोगिताबाट बाहिर राखिएको हो। ‘भारतबाट फैलिएको कोरोनाको डेल्टा भेरियन्टको प्रभाव नेपालमा पनि छ। सोही कारण फिलिपिन्स सरकारले एशियन भलिबल महासंघमार्फत नेपाल र भारतलाई सहभागी गराउन असमर्थ रहेको जानकारी पठाएको छ,’ छन्त्यालले भने। उनका अनुसार कोरोना जोखिमका कारण फिलिपिन्समा नेपाल र भारतका नागरिकलाई प्रवेश दिइएको छैन।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टका अनुसार जापान र हङकङले भने महामारीको कारण देखाएर आफैँ नाम फिर्ता लिएका हुन्। च्याम्पियनसिपमा अब फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, कजाकस्तान, चाइनिज ताइपेइ, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र खेल्ने छन्। ‘पहिलोपटक एसियालीस्तरको प्रतियोगितामा भाग लिँदा खेलाडीले अनुभव बटुल्न पाउने अवसर थियो। केही खेलहरु जित्ने लक्ष्यका साथ टोलीले प्रशिक्षण थालेको थियो। महामारीका कारण त्यो अवसर गुमेको छ,’ भट्टले भने, ‘हाम्रो लागि यो प्रतियोगिता ओलम्पिक खेल्नु सरह थियो।’
खेलाडीलाई ‘करिअर’को चिन्ता
करिब एक महिना प्रशिक्षण भइसकेपछि प्रतियोगितामा सहभागी नगराउने निर्णय हुँदा खेलाडीको मनोबल खस्किएको प्रशिक्षक भट्ट बताउँछन्। जिम्मेवार निकायबाट यसरी अवसर खोसिँदा खेलाडीको भविष्यमा नै असर पुग्ने उनको तर्क छ। ‘यस्तो मौका एक युगमा एक चोटी आउने हो। खेलाडी निराश छन्। तर, हाम्रो कारणले यसो भएको होइन भनेर खेलाडीलाई सम्झाइरहनुपर्ने स्थिति सिर्जना भएको छ,’ प्रशिक्षक भट्टले भने।
उनका अनुसार एक खेलाडीको ‘पिक फर्म’ कम्तीमा सात वर्ष हो। यसमा पनि चोट, घरेलु प्रतियोगिता, टोलीमा पर्न संघर्ष गर्न खर्चिनुपर्ने समयका कारण एक खेलाडीले देशका लागि तीनदेखि चार वर्ष खेल्न पाउँछन्।
अन्तिम समयमा खेल्न नपाउँदा खेलाडीको मनोबल नगिरोस् भनेर नेपाल भलिबल संघलाई सचेत गराइएको प्रशिक्षक भट्टको भनाइ छ। ‘नेपाली महिला टाेलीको क्षमता उच्च छ। त्यसैले अहिले हामी साउथ एसियाभन्दा माथि गएर ‘एक्सपोज’ गर्ने लक्ष्य थियो’, भट्ट भन्छन्, ‘हुन त साउथ एसियन च्याम्पियनसिप लगायत थुप्रै प्रतियोगिता हुँदैछ। तर, एकल प्रयासबाट सहभागी हुन सम्भव छैन। सरकार र संघको प्रयास भए हामी खेल्न सक्छौं। यसले खेलाडीको मनोबल गिर्नबाट पनि जोगाउँछ।’
यता, कप्तान अरुणा शाही डेढ वर्षभन्दा लामो समयपछि राष्ट्रिय टोलीमा फर्किने अवसर खोसिँदा नरमाइलो लागेको बताउँछिन्। तर, यसलाई नै अन्तिम प्रतियोगिताको रुपमा नलिएको उनको भनाइ छ। ‘अहिलेको मौका गुमाउँदा टोली नै निरास छ। तर, यो नै अन्तिम होइन। जीवनमा यस्तो ‘अप एण्ड डाउन’ भइरहेको हुन्छ। यस्ता प्रतियोगिता अझ धेरै हुन्छन्। हामीले गरेको मिहिनेत चाहिँ खेर नजाओस् भन्ने लागेको छ,’ उनी भन्छिन्।
अहिलेको टोली उत्कृष्ट भएकाले एनभीएले प्रतियोगितामा सहभागी गराउन दिएको आश्वासन पूरा हुने उनको आशा छ। ‘अहिले टोलीमा नयाँ बहिनीहरु आएका छन्, हाइट पनि राम्रो छ। एसियन च्याम्पियनसिप खेल्न पाउनु राम्रो अवसर हो। हामीले पदक ल्याउने भन्दा पनि प्रतिस्पर्धात्मक उपस्थिति जनाउने तयारी थियो। हामीले आशा मारिसकेका छैनौँ,’ उनी भन्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।