विराटनगर– गुणस्तरहीन काम गरेर ठगी गरेको आरोपमा टुन्डीरमण निर्माण सेवाका साइट प्रोजेक्ट म्यानेजर रवि पन्तसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको पहलमा उनीहरुलाई पक्राउ गरिएको हो। विराटनगरस्थित जनआन्दोलन चोकछेउको पक्की नाला निर्माणमा गुणस्तरहीन काम गरेको पाइएपछि पन्तसहित अन्य २ जनालाई पक्राउ गरिएको जनाइएको छ। पक्राउ पर्नेमा प्रोजेक्ट म्यानेजर पन्त, सुपरभाइजर विनय साह हुन् भने अर्का एक जनाको नाम खुलाइएको छैन।
मेयर पराजुलीको नेतृत्वमा रहेको अनुगमन टोलीले मापदण्डभन्दा कम सिमेन्ट प्रयोग गरी बालुवा बढी हालेर नाला बनाएको फेला पारेको थियो।
विकास निर्माणका काममा चरम लापरवाही देखिएपछि पराजुलीले जिल्ला प्रशासन कार्यालय विराटनगरलाई पत्राचार गरी संलग्नलाई कारबाही गर्न आग्रह गरे लगत्तै प्रहरीले ठेकेदार पन्तसहित उनका सहयोगीलाई पक्राउ गरेको हो। ठेकेदार कृष्ण बोहोरालाई भने प्रहरीले पक्राउ गरेको छैन।
महानगरले टुन्डीरमण निर्माण सेवाका ठेकेदार कृष्ण बोहरा, सोही कम्पनीका मेनेजर रवि पन्त, सुपरभाइजरद्वय सञ्जय रजक, विनय साह र सडक कार्यालयका सुपरभाइजर देवराज बराललाई कारबाहीको सिफारिस गरेको थियो।
विकास निर्माणका काममा लापरवाही गरेको पाइएपछि प्रशासनिक कारबाहीको सिफारिस गरेको पराजुलीले बताए। व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत महेन्द्र चोकदेखि बरगाछीको भागमा गुणस्तरहीन काम भएको र काममा ढिलाइ भएकाले कारबाहीको सिफारिस गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।