काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ।
मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।
२०७८ असोज मसान्तभित्र एक तिहाइ जनसंख्यालाई र चैत मसान्तभित्र खोप लगाउन योग्य सम्पूर्ण नेपाली नागरिकलाई कोभिड-१९ विरुद्ध पूर्ण मात्रामा खोप लगाउने सुनिश्चित गर्ने निर्णय गरिएको सरकारका प्रवक्ताको समेत जिम्मेवारी पाएका संसदीय मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
मन्त्रिपरिषद्को बैठकले अबको १ हप्ता भित्रै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोभिड-१९ का फ्रन्टलाइनरहरुको जोखिम भत्ता उपलब्ध गराउन शुरु गर्ने निर्णय पनि गरेको कार्कीले जानकारी दिए।
मन्त्री कार्कीले कोभिड-१९ को संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि सरकारलाई आवश्यक सल्लाह दिन विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय भएको पनि जानकारी दिए।
कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको हिसाब सार्वजनिक गर्ने निर्णय भएको पनि कार्कीले जानकारी दिए।
कोभिड-१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक महिनाभित्र विशेष प्याकेज ल्याउने निर्णय पनि सरकाले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।