बनेपा- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११, धनेश्वरका ३७ वर्षीय ईश्वर थापाको हत्यामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
गत सोमबार राति सोही ठाउँमा बस्दै आएका थापालाई हातखुट्टा भाँचिएको अवस्थामा प्रहरीले टहरा छेउमा नै मृतावस्थामा फेला पारेको थियो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले साविक सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाविस–३ का १८ वर्षीय लक्ष्मण भनिने वसन्त खड्का र बनेपा नगरपालिका–४ का २२ वर्षीय राजु सिग्देललाई शुक्रबार सार्वजनिक गरेको छ। उनीहरुलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए।
थापाले आफ्नी आमालाई पटकपटक कुटपिट तथा विवाह गर्छु भन्दै मानसिक र शारीरिक यातना दिएका कारण आफूले सहन नसकी प्रतिकार गर्नुपरेको खड्काले बताए। 'घटना भएको दिन पनि आमालाई चोटपटक हुने गरी कुटपिट गरी नागरिकता र लालपुर्जालगायत अन्य कागजात लिएर गएको र ती कागजात लिन भनी जाँदा पिट्न खोजेका कारण टहरा नजिक भेटेको बाँसको लठ्ठी र रडले हानेको हुँ,' उनले भने।
थापाले मादक पदार्थ सेवन गरी पटक पटक कोठामा गई गाली बेइज्जती गरी कुटपिट गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक शाहले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।