नुवाकोट- यहाँको ओखरपौवाका स्थानीयवासीको अवरोधका कारण आज बिहानदेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्न अवरुद्ध भएको छ।
काठमाडौँको तीनपिप्लेदेखि फोहर विसर्जन हुँदै आएको स्थान सिसडोलसम्म भइरहेको सडक कालोपत्रेको काम गुणस्तरीय नभएको भन्दै फोहर बोकेर आएका गाडी स्थानीयवासीले रोकेका प्रहरी चौकी ओखरपौवाका प्रमुख प्रहरी सहायक निरीक्षक पशुपति पाठकले जानकारी दिए। उनका अनुसार स्थानीयवासीको अवरोधले काठमाडौँबाट फोहर बोकेर आएका करिब १०० गाडी अहिले तीनपिप्ले क्षेत्रमा नै रोकिएका छन्।
काठमाडौँ महानगरपालिकामार्फत ठेक्का लगाएर तीनपिप्लेदेखि सिसडोलसम्मको करिब ९ किलोमिटर सडकको जारी रहेको कालोपत्रेको काम गुणस्तरहीन भएकाले फोहरका गाडी रोक्न बाध्य भएको स्थानीयवासी लालबहादुर बलामीले बताए।
'कुनै स्थानमा दुई लेनको कालोपत्रे भएको छ, कहीँ सडकसमेत छोपिएको छैन,' बलामीले भने, 'ठूलोखोलादेखि प्रहरी चौकीसम्मको करिब ३ किलोमिटर सडकमा नाम मात्रको कालोपत्रे भएकाले विरोधमा उत्रिएका हौँ।'
उनका अनुसार गुणस्तरीय काम नगरेको भन्दै यसअघि विभिन्न पटक जनप्रतिनिधिमार्फत ठेकेदारलाई सचेत गराउँदा सुनुवाइ नभएको हो।
काठमाडौँ उपत्यकामा दैनिक उत्पादन हुने एक हजार ५०० भन्दा बढी टन फोहरको विसर्जन यहाँको ओखरपौवास्थित सिसडोलमा गरिँदै आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।