कालेबुङ- भूमिगत नेता विमल गुरूङले आफ्नो अफिसियल फेसबुक पेजमा दशैंको शुभकामना के बाँडेका थिए, उनका फलोअरहरूले साटोमा यतिधेरै गाली बर्साए कि गुरूङलाई शुभकामना नै डिलिट गर्न कर लाग्यो।
गुरूङलाई गाली जायज छ। किनभने सय दिन भन्दा धेरै पहाड बन्द गरेपछि सचिवस्तरीय बैठकका लागि बन्द स्थगित गरेको जनतालाई निको लागेन। बन्द खोलिएदेखि फेसबुकेहरूले नेतामाथि आफ्ना असन्तुष्टि पोख्न छाडेका छैनन्।
विमल गुरूङको दशैंको शुभकामनामुनि त्यही असन्तोष सयौंले पोखिरहेका थिए। त्यही लाइनमा कवि लेखनाथ छेत्री पनि थपिए।
आफ्ना असन्तोष पोख्दापोख्दै गुरूङको शुभकामना पोस्ट नै हरायो। अत्यधिक गाली खप्न नसकेका गुरूङले पोस्ट नै डिलिट हानेका थिए।
त्यसपछि कवि लेखनाथले आफ्नो टाइमलाइनमा लेखे- ‘विमल दाजुले फेसबुकमा दशैंको शुभकामना लेखेछन्। जवाब लेख्दालेख्दै उनको अफिसियल पेजबाट उक्त पोस्ट आफैं हरायो। जवाब यहाँ राखेँ:
'दाजु रातो टीका लगाउनु होला। खसीको मासु खुब खानुहोला। चाडबाड हो, बियर पनि अलिकति पिउँदा के जाला? अहलुवालियाले भोट जितेपछि चौरस्तामा नाचेको हिजोजस्तो लाग्छ। त्यसरी नाचिदिए पनि भइगयो। हाम्रो त ११ जना आफ्नो मान्छे मरेका छन्। आफ्नै मान्छे। यसैले शोकमा छौं। हामीले त मनाएनौं दशैं।’
बंगाल पुलिसको गोली लागेर ११ जना आन्दोलनकारीको मृत्यु भएको दुई महिना पनि राम्ररी बितेको छैन, जसको कारण पहाड अझ पनि शोकबाट बाहिर निस्किएको छैन यस्तोमा विमल गुरूङ भने शुभकामना बाँड्छन्।
कालो टीकाको दशैं
यसपल्टको दशैंमा कतै रौनक देखिएन।
टीकाको दिन दिल्लीको जन्तरमन्तरमा गोर्खाल्यान्ड संयुक्त संघर्ष समितिका कार्यकर्ताले ती ११ जना सहिदको फोटोमुनि दियो बालेर सहिदहरूलाई श्रद्धाञ्जली दिए।
त्यसपछि निधारमा लगाए कालो टीका।
‘सहिदको खुनले बनिएको चौकीमा विनय तामाङ बसिहाले, राजनीतिकस्तरमा हुनुपर्ने वार्ता सचिवस्तरमा हुँदैमा बन्द खुलाएर विमल गुरूङले बहादुरी देखाइहाले। जनता मरेका छन्, जेलमा छन्, घाइते छन्, कसरी मनाउनु हामीले दशै,’ भन्छन्, किरण बिके, ‘बंगालको दमन, दिल्लीको मौनता र नेताहरूको अक्षमताको विरोधमा विजया दशमीको दिन कालो टीका लगायौं।’
दिल्लीका गोर्खाहरू टीकाको दिन पनि जन्तरमन्तरमा भेला भए। कालो टीका लगाए र आशीर्वादमा भने, ‘फेरि आन्दोलनलाई राष्ट्रीयकरण नगरिए जिटिए-२,३ हरू नै दार्जीलिङले पाउनेछन्, छुट्टै राज्यको निम्ति दार्जीलिङ लगायत देशभरिका गोर्खाहरूले संयुक्त आन्दोलन गर्ने ऊर्जा प्राप्त गरुन्।’

पहलको निधारमा पनि कालो टीका
दार्जीलिङको चौरस्ता र कालेबुङको डम्बरचौकमा पहल सांस्कृतिक टोलीले त्यसै गऱ्यो। ‘राज्य आतङ्क साथै जनआन्दोलनलाई केही नेतृत्वहरूले दिएको धोका विरूद्धमा प्रतिवाद जनायौं,’ पहल कार्यकर्ता छेवाङ योञ्जन भन्छन्, ‘कालो टीका लगाएर हामीले डम्बरचोक परिसरमा केही घन्टासम्म धारणा पनि दियौं।’
एक्टिभिस्टहरूले त आफ्नै भाषामा विरोध प्रकट गरिरहेका थिए, साधरण जनताले पनि दशैंमा हर्षोल्लास प्रकट नगरेर दशैंलाई ‘प्रतिवाद’कै रूपमा पालना गरिरहेका थिए।
खरसाङका कवि वालकृष्ण थामीलाई लाग्छ, धेरैले चन्दनको टीका मात्र लगाएर दशैंको दस्तुर पालन गरे। उनीहरूमा दशैं ‘सेलेब्रेट’ गर्ने मुड नै आएन।
‘सेलेब्रेट’ गर्ने मुड किन अफ?
‘एक त आन्दोलनको सफलताले पनि त्यस्तो भएको हो, ११ जना सहिद भए, धेरै घाइते छन्, पहाडले धेरै गुमाइसकेको छ। त्यसको साटो उनीहरूले केही पाएनन्,’ थामी भन्छन्, ‘अर्को चाहिँ दशैंको मुखमा बन्द खोलिनु र जोगाड गर्न नपाउनु पनि हो।’
यता दार्जीलिङमा मानिस मर्दा मौन र गाई मर्दा बोल्ने भाजपा सरकारविरुद्ध निरन्तर विरोध गर्दै आइरहेका स्वामी स्वादेशानन्दले पनि यसपल्ट टीका लगाएनन्। ‘मैले त सरकारको नश्लभेदी आचरणको विरुद्ध दशैंको टिका लगाइनँ,’ भन्छन् उनी।
रोङ्गोका विद्यार्थी सिद्धार्थ छेत्रीले पनि टीका लगाएनन्। रमाइलो पनि गरेनन्। सँधै दशैंको रौनक अर्कै हुन्थ्यो, यसपल्ट नितान्तै अल्छी लाग्दो बित्यो टीका।
‘यत्रो आन्दोलन गऱ्यो दशैँ आउनु आँट्दा खोलियो। बाबाको तलब पनि आएन। बाबासित पैसै नभएपछि घरिघरि माग्नु पनि भएन। गोजीमा पैसा नै नभएपछि घुम्न जानु, लुगाफाटा किन्नु पनि छैन,’ सिद्धार्थ भन्छन्, ‘पैसै नभएपछि साथीभाइसित रमाइलो गर्नु पनि सकिएन।’
आर्थिक रूपले कमजोर घरलाई बलियो बनाउन गाउँघर छोडेर विभिन्न ठाउँमा काम गर्न गएकाहरूमा पनि दशैं मनाउने उत्साह देखिएन।

दशैंको टीकाको दिन दार्जीलिङ चौरस्तामा कालो टीका लगाएर प्रदर्शनमा उत्रिएका गोर्खाल्यान्डका समर्थक
गोर्खाल्यान्डको आँगनमा भैलेनी खेल्ने सपना
दिल्ली बसेर काम गरिरहेकी समिता शेर्पा भन्छिन्, ‘आफ्नै देशमा विदेशी भनिमाग्नुको पीडा जो कोहीलाई थाहा छैन, तर आफ्नै नेताहरूले पनि हाम्रो सपना बेचे। छुट्टै राज्यको निम्ति समग्र गोर्खा लडिरहेका छन् तर प्राप्ति भने केही छैन। यससबीच आएको दशैं मनाउने रहर कसैलाई छैन।’
यद्धपि उनले गोर्खाल्यान्डको आँगनमा भैलेनी खेल्ने सपना देखेकी थिइन्।
‘यस्तै सपना सबैले देखेका थिए यसपालि, तर नेताहरूले त्यही सपना ममता बेनर्जीले पैसामा बेचिदिए,’ शर्पाले भनिन्, ‘न हातमा पैसा, न सपना साकार, यस्तोमा दशैं मनाउनु भनेको मरीमरौंमा नाच्नु हो, त्यही गर्न सकिएन।’
सिलगडीकी उषा नन्दीले उत्तरबङ्ग बङ्गला समाचार पत्रिकामा विमल गुरूङको नक्सा देखिन्। ‘जातिले आत्मसमर्पण गरेको कुराले पिरल्यो,’ भनिन् उनले, ‘विमल गुरूङले पहाडे टोपी लगाएर सेतो झन्डा बोकेको कार्टुन उत्तरबङ्गमा छापिएको छ, कति कठोर व्यङ्ग्य भइरहेको छ।’ नेताहरूले आत्मसमर्पण गरेकैले समग्र जातिलाई हियाउने काम चारैतिर भइरहेको उनलाई लागेको हो।
दार्जीलिङकी महिमा थापाले भनिन्, ‘काम परेर सिलगडी झर्दैछु, तर कसरी शीर ठाडो पारेर हिँड्नु होला, लाज लागिरहेको छ।’
तीन महिना लगाएर गरेको आन्दोलन 'ताइ न तुइ'मा सकिएपछि तराईका अन्यभाषीले गर्ने व्यङ्ग्यसित कसरी ‘फेस’ गर्नुपर्ने हो, महिमालाई ‘लाज’ त्यसै कारण लागेको हो। यस्तोमा दशैं मानेर, रमाइलो गरेर हाँसोको पात्र बन्न महिमालाई मन नै लागेन रे।
दशैंभन्दा ठूलो गोर्खाल्यान्ड
मङ्पूका आशिशदीप राईलाई चाहिँ आन्दोलनको कारण नै दशैं नमानिएको भन्ने कुरामा उति विश्वास लागेको छैन। ‘आन्दोलन त बाहाना हो,’ भन्छन् उनी, ‘खासमा उनीहरू आर्थिक रूपले सक्षम नबनेकैले दशैं नमानेका हुन्।’
यद्धपि मानिसहरूको मन जसरी खल्लो देखिन्छ, त्यो भने आन्दोलनकै उपादान रहेको मान्छन् उनी। ‘दशैं त मानिसहरूले रमाइलोसित मानेनन्, यसको अर्थ अझ पनि केही हुने आशा उनीहरूसित छ,’ उनी भन्छन्, ‘दशैंपछि नेताहरूको खास परीक्षा छ। खल्लो दशैं र आन्दोलन असफलता, दुवैको जवाब जनताले दिनेछन्।’
दलगाउँका विकास नेवाङ आन्दोलनबाट दशैंलाई पर राखेर हेर्नै नसकिने बताउँछन्। ‘दशैंभन्दा ठूलो त गोर्खाल्यान्ड हो, त्यसैको आन्दोलन केही नपाई सकियो,’ विकासको निचोड छ, ‘पैसा नै भए पनि सधैँजस्तो हर्षोल्लाससित दशैं मनाउने मुड नहुनुमा आन्दोलन नै प्रमुख कारण हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।