रसुवा– रसुवागढी हुँदै तिब्बतको कैलाश मानसरोबर जाने यात्रुहरु आउने क्रम सुरु भएको छ। हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल तिब्बतको कैलाश मानसरोवर तीर्थाटन जाने मुख्य सिजन सुरु भएसँगै रसुवागढी नाका हुँदै जाने यात्रुको आगमन सुरु भएको हो।
सिजन सुरु भएसँगै बिहीबार रसुवागढी हुँदै मानसरोबर जानेहरुको संख्या करिब २ सय पुगेको अल्पाइन कैलास ट्रेकका प्रबन्ध निर्देशक प्रदीप पण्डितले बताए। उनले भने, ‘१ सय ६० जना भारतीय, ४ जना अमेरिकी र २८ जना नेपाली मानसरोबरको यात्रा सुरु गरेका छन्।’
यसअघि फाट्टफुट्ट रुपमा यो नाका हुँदै मानसरोबर जाने गरेको भए पनि यस वर्षको सिजन सुरु भएसँगै पहिलो पटक यति ठूलो संख्यामा तीर्थालु मानसरोवरतर्फ लागेको पण्डितले जनाए। उनले भने, ‘रसुवागढी नाकाबाट ठूलो संख्यामा मानसरोबर गएको यो नै पहिलो रेकर्ड हो।’
समुद्री सतहबाट करिब ६ हजार ५ सय मिटर उचाइमा रहेको मानसरोवर रसुवागढी नाकाबाट करिब ६ सय किलोमिटर टाढा पर्छ।
तातोपानी नाका बन्द भएसँगै चीनसँग जोडिएका रसुवागढी, हिल्सा लगायतका नाकाको प्रयोग गरी यात्रुहरु मानसरोबर जान थालेका हुन्। तातोपानी नाका बन्दभएपछि नेपाल र चीनले रसुवागढीलाई प्राथमिकतामा राखेपछि यही बाटो भएर मानसरोबर जाने तीर्थालुको संख्यामा पनि बृद्धि हुन थालेको हो। कैलाश मानसरोबर जाने मुख्य सिजन मेदेखि सेप्टेम्बरसम्म हो।
केरुङलाई प्रमुख व्यापारिक केन्द्र बनाएको चीनले धार्मिक पर्यटनका लागि समेत यसलाई प्राथमिकतामा राखेको छ। गतबर्ष देखि रसुवागढी नाका हुँदै पर्यटकको आवतजावत खुल्ला गरेसँगै यो नाकामा चहलपहल बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।