पोखरा– नयाँशक्ति पार्टी अन्तर्गतको तमु राष्ट्रिय परिषदले जेठ १९ मा पोखरामा दोस्रो राष्ट्रिय भेला गर्ने भएको छ।
भेलाबाट प्रदेश ४ मा तमु परिषदको नयाँ कार्यसमिति समेत चयन गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा भेला संयोजन समितिका सदस्य विनोद गुरुङले जानकारी दिए। भेलालाई नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई तथा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रदेश ४ लाई तमुवान स्वायत्त राज्य निर्माण गर्न, जनजातिका मुद्दालाई संविधानमा पूर्णता दिन भेला गर्न लागेको गुरुङले जानकारी दिए।
‘पहिलो भेलाबाट उठेका हाम्रा एजेन्डालाई पूर्णता दिन पनि भेला गर्न लागेका हौं’, उनले भने। उनले प्रदेश ४ तमुहरुको थातथलो भएको तर अन्य कुनै पनि पार्टीले यसमा ध्यान नदिएको आरोप लगाए।
भेलामा देशभरिका १७ जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।