काठमाडौं– माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादनका लागि अन्तिम चरणका परीक्षणका भइरहेको छ। ४५६ मेगावाट जडित क्षमताको आयोजनाको पहिलो युनिटबाट २१ असारदेखि विद्युत उत्पादन सुरु गर्ने तयारी गरिएको छ। ७६/७६ मेगावाटका ६ युनिट रहेको आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत उत्पादन हुनेछ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारदेखि विद्युत उत्पादनको तालिका तय गरेको हो।

टोलीले विद्युतगृहमा भइरहेको उपकरणहरुको परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यू खिम्ती सबस्टेसन लगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीहरुसँग छलफल गरेको थियो।
जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सबै प्रकारका परीक्षणहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन्। विद्युतगृहमा पहिलो युनिटको परीक्षण चलिरहेको छ।
आयोजनाबाट उत्पादित विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ। यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ भने लाइनको परीक्षण भइरहेको छ।
७६ किलोमिटर खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ। माथिल्लो तामाकोसीको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिने छ। खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ।
सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारणलाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ। सबस्टेसन १५ दिनभित्रमा संचालनमा आउने उनले बताए।

आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पहुँच सडक, पुल लगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२/६३ मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७/६८मा सुरु भएको थियो। २०७२ को विनाशकारी भूकम्प, बाढीपहिरोले पुर्याएको क्षतिका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।