खजुरा बाँके- बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकामा आँधीहुरीले ढलेका विद्युत पोल मर्मत नहुँदा स्थानीयबासीले अझै बत्ती बाल्न पाएका छैनन्।
एक हप्ताअघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा ३० वटा विद्युत् पोल ढलेका छन् भने केही भाँचिएका छन्। विद्युत् कार्यालयले सुस्तगतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बत्ती बाल्न नपाएको भन्दै स्थानीय आक्रोशित भएका छन्।
अत्यधिक गर्मीको मौसममा लामो समयसम्म विद्युत् आपूर्ति बन्द भएपछि स्थानीयलाई हैरानी भएको छ। विद्युत् कार्यालयले मुख्य सडकका पोल गाडिसकिएको र गाउँभित्रका पोल केहीदिनमै गाड्ने बताएको छ।
आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा बढी क्षति पुर्याएको छ। आँधीहुरीले वडा नं ५ गोहनाका १२ वर्षीया गीता कुमाई घरको छानाले च्यापिएर गम्भीर घाइते भएकी छन्। उनको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।
गाउँपालिकाको दुईवटै वडामा टिन, टायल र फाइबरले छाएको करीब ७० जनाको घरको छाना उडाएको छ भने एक दर्जनभन्दा बढी रुख ढलेका छन्। हुरीले छाना उडाएपछि नागरिकलाई तत्काल बस्न समेत समस्या भएको छ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले क्षतिबारेमा तथ्यांक संकलन भइरहेको भन्दै राहतका लागि सम्बन्धित निकायमा पहल गर्ने बताए।
उता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले तीन सयभन्दा बढी घरमा क्षति पुर्याएको छ।
काठको कच्ची घरमा लगाइएका टायल उडाएर हावाहुरीले क्षति गरेको हो। आधा दर्जनभन्दा बढी घरमा हावाहुरीले रूख ढाल्दा परिवार नै विस्थापनमा परेका छन्। वडा नं १ का तीन स्थानीयवासीको घरमा रूख ढल्दा पूरै घर भत्केर क्षति भएको वडाध्यक्ष हरिश बिष्टले बताए।
वडा नं ३ का ४० भन्दा बढी घर र होमस्टे सञ्चालनका लागि बनाएका दुई घरमा क्षति गरेको वडघर रामप्रसाद चौधरीले बताए। वडा नं १२ का सामुदायिक र निजी गरी दुई विद्यालय भवनमा जस्तापाता उडाएको र ७० भन्दा बढी घरका छानाको टायल उडाएर फुटालेको छ।
ठाउँठाउँमा हावाहुरीले विद्युतका खम्बा ढाल्दा विद्युत् सेवासमेत गएरातिदेखि अवरुद्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।