काठमाडाैं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्ने आफ्नो ‘फाइनल डिसिजन’ भएको बताएका छन्। सोमबार साँझ बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा युवा पुस्ताका नेताहरुसँगकाे भेटमा निधिले साे जानकारी दिएका हुन्। भेटमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका युवा नेताहरु उपस्थित थिए।
चन्द्र भण्डारी, दिपक गिरी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, जीवन परियार, बद्री पाण्डे, सरिता प्रसाईलगायत केन्द्रीय नेतासँग निधिले छलफल गरेका हुन्। निधिले ३ घन्टा बढी छलफल गरेका थिए।
बैठकमा सहभागी केही युवा नेताले पुरानो पुस्ताबाट पार्टी सञ्चालन हुन नसक्ने धारणा निधिलाई सुनाएका थिए। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्व हस्तान्तरण गर्न तयार हुनुपर्ने विचार सहभागीले राखेका थिए। देउवा र पौडेलले सक्रिय राजनीतिबाट स सम्मान विश्राम लिनुपर्ने उनीहरुको भनाइ थियो।
सभापतिको उम्मेदवारमा स्वच्छ प्रतिस्पर्धाका लागि निधिको उम्मेदवारीलाई स्वागत गर्ने केही नेताको मत थियो। बैठकमा राखेको रायबारे एक नेताले भने, ‘तपाईहरु तीन जना (निधि, शशांक र प्रकाशमान) कुरा गर्नुभएको छ। सकेसम्म मिल्नुस्। होइन भने स्वच्छ प्रतिस्पर्धाका लागि उठ्नुस्। पार्टीलाई नयाँ उर्जा दिन्छ।’ युवा नेताहरुको राय सुनिसकेपछि निधिले आफू अघि बढिसकेको प्रष्टाएका थिए।
निधिले राखेको विचारबारे सहभागी एक नेताले भने, ‘म अघि बढिसकें। पछि फर्केने ठाँउ छैन। तपाईहरुले साथ दिनुस्।’ सोमबार बिहान आफ्नो निवासमा निधिले महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंहलाई डाकेर छलफल गरेका थिए।
बिहानको छलफलका विषयमा पनि युवा नेताहरुले आफ्ना धारणा राखेका थिए। सहभागी एक नेताका अनुसार कांग्रेसको राजनीतिमा विरासतलाई विर्सन नहुने भन्दै तीन नेता एक ठाउँमा उभिँदा उपयुक्त हुने विचार पनि आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।