काठमाडौं– आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकालले सरकारले मंगलबार ल्याएको बजेटबाट कर्मचारीतन्त्रमा निरासा फैलिएको बताएका छन्।
ढकालले नेपाल लाइभसँग कुरा गर्दै कर्मचारीलाई केही प्रतिशत भए पनि प्रोत्साहनस्वरुप तलब वृद्धि गरेर ऊर्जा थप्नुपर्नेमा निरास बनाएको बताए। उनले यही जेठ १९ गते हुने आधिकारिक ट्रेड युनियनको अधिवेशनले तलब वृद्धि नगर्ने सरकारको निर्णयमा थप सशक्त कार्यक्रम ल्याउने बताए।
सरकारको ढुकुटी रित्तो रहेको भन्दै कर्मचारीलाई दैनिक गुजारा गर्न समस्या भइरहेको कुरामा आँखा चिम्लिन नहुने उनले बताए।
‘सरकारी ढुकुटी रिक्तो रहेको कुरा कर्मचारीलाई थाहा छ, तर यसलाई बहाना मात्र बनाइएरर कर्मचारीलाई उपेक्षा गरियो', उनले भने।
ढकालले पूरै निरास भने आफूहरु नरहेको बताए। प्रधानमन्त्रीले बजेट निर्माणको समयमा तलब समायोजन आयोगको सिफारिसका आधारमा तलब पुनरावलोकन गर्ने वचन आफूहरुलाई दिएको र बजेट भाषणका क्रममा अर्थमन्त्रीले पनि उक्त कुरा भनेकाले झिनो आस भने रहेको उनले बताए।
प्रत्येक ३ वर्षमा पुनरावलोकन गर्ने भन्ने कानुनी व्यवस्था भएकाले यस वर्ष वृद्धि नगरिएको सरकारको तर्कप्रति आफू नरम नै रहेको अध्यक्ष ढकालले बताए। तर, यो व्यवस्थाले अवकास पाउने समय भएका कर्मचारीहरुलाई मर्का परेको उनको भनाइ छ।
अध्यक्ष ढकालले २ हजार भत्ता दिने घोषणालाई सरकारले आफूलाई कर्मचारीबाट बचाउ गर्ने बहाना बनाएको टिप्पणी गरे।
‘कर्मचारीबाट विरोध आउने देखेर केही गरेको देखाउन यस्तो गरिएको हो’, उनले भने, ‘तर यसले कर्मचारीलाई खासै राहत हुने देखिँदैन।’
उनी एमाले निकट कर्मचारी युनियनबाट आधिकारिक कर्मचारी युनियनमा रहेकाले सरकारप्रति त्यति आक्रामक देखिएनन्। उनले भेला मार्फत निर्णय हुने बताए। तर, बजेटमा कर्मचारीलाई बेवास्ता गरिएको विषयमा कांग्रेस निकट नेपाल निजामती कर्मचारी संगठनले भने कडा विरोध गर्दै आएको छ। उसले आधिकारिक ट्रेड युनियनलाई यसको विरोधमा तत्काल आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न पनि दबाव दिइरहेको छ। ढकालले भने भेलामार्फत नै यसमा धारणा बनाएर जानुपर्ने भन्दै पन्छाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।