चितवन- पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रले सक्रियता देखाउन थालेका छन्।
सीमा क्षेत्रका भारतीय सहरमा पुगेर त्यहाँका पर्यटन व्यवसायीमार्फत यहाँको पर्यटकीय महत्वका बारेमा प्रचारप्रसार गर्न लागिएको हो। नेपाल पर्यटन बोर्डको सहयोगमा क्षेत्रीय होटल संघ सौराहाले संयोजन गरी सीमा क्षेत्रमा यहाँको पर्यटकीय महत्वका बारेमा अन्तर्क्रियामार्फत प्रचारप्रसार गर्न थालिएको छ।
चितवन, नवलपरासी, मकवानपुर, बारा र पर्साका पर्यटन व्यवसायीको टोलीले जेठ १७ गतेदेखि पाँच दिनसम्म भारतीय सहरमा त्यहाँका पर्यटन व्यवसायीसँग छलफल गरेर यहाँको पर्यटनका बारेमा जानकारी गराउने भएको हो। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार पटना, लखनउ र वनारसमा कार्यक्रम गरिनेछ।
भारतीय पर्यटन बोर्ड, ट्राभल एजेन्ट, होटल व्यवसायी र पत्रकार सहभागी गराएर कार्यक्रम गरिनेछ। ती कार्यक्रममार्फत मुख्य रुपमा चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा भएका वन्यजन्तुको अवस्थाका बारेमा जानकारी गराइनेछ। यस क्षेत्रका पर्यटकीय महत्व बोकेका ठाउँका बारेमा पनि जानकारी गराइने योजना छ।
हात्तीपोलो, हात्ती दौडजस्ता जनावरसँग गरिने पर्यटकीय गतिविधिका बारेमा पनि अडियो भिडियोमार्फत जानकारी गराइने घिमिरेले बताए। यस क्षेत्रका पर्यटकीय महत्व बोकेका ठाउँ र भारतीय शहरको दूरी, यहाँ आउन लाग्ने खर्च, यहाँका खाना, संस्कृति, परम्परा लगायतका विषयमा जानकारी गराइनेछ।
खुल्ला सीमाका कारण सहज रुपमा आवतजावत गर्न सकिने, एकैदिनमा आइपुग्न सकिने तथा छोटो समय र थोरै खर्चमा वन्यजन्तुसहितका पर्यटकीय महत्व बोकेका ठाउँको अवलोकन गर्न सकिने भएकाले भारतीय सीमा क्षेत्रका बासिन्दा यहाँ घुम्न आउन सहज हुने देखिन्छ। पर्यटन विकास समिति चितवनका अध्यक्ष दिलीप मैनालीले पहिलो पटक संस्थागत रुपमा उक्त अभियान सुरु गर्न लागिएको बताए।
भारतको विहार र उत्तर प्रदेशमा आर्थिक अवस्था राम्रो भएकाले यहाँको पर्यटकीय महत्व बुझाउन सकेमा त्यस क्षेत्रका पर्यटक यहाँ भित्रिने सम्भावना छ। विहार र उत्तर प्रदेशको जनसंख्या करिब ३४ करोड भएकाले एक प्रतिशतमात्रै नेपाल भित्र्याउन सके पनि यहाँको पर्यटन फस्टाउने घिमिरेको भनाइ छ। हाल दुई लाख हाराहारी पर्यटक भित्रिने चितवनमा पाँच लाख पर्यटक पुर्याउने लक्ष्य राखिएको छ।
हाल नेपालमा ३० प्रतिशत भारतीय पर्यटक आउने गरेका छन्। सोही हाराहारीमा चितवन आउने गर्छन्। पछिल्लो समय होटल क्षेत्रमा लगानी बढ्दै जाँदा पर्यटक नबढेपछि निजी क्षेत्र प्रचारमा जुटेको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।