काठमाडौं– सरकारले तीन महिनाभित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट सार्वजनिक गर्ने घोषणा गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले राजसंस्थाको प्रतीकका रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिनाभित्र सार्वजनिक गर्ने बताएका हुन्। यसअघि पनि सरकारले राजमुकुटलाई सार्वजनिक गर्ने पटक–पटक प्रतिबद्धता जनाउँदै आएको थियो।
बुधबार नारायणहिटी दरबार संग्राहलयको अनुगमनमा पुगेका मन्त्री अधिकारीले संग्राहलयको उचित व्यवस्थापनका लागि गुरु योजना बनाउने जनाए। नारायणहिटीको ऐतिहासिकता मर्न नदिन पनि गुरु योजना बनाउने सोच आफूले अघिसारेको मन्त्री अधिकारीले बताए।
मन्त्री अधिकारीले नारायणहिटी दरबार संग्राहलयमा निर्माणाधीन गणतन्त्र स्मारकको काम पनि छिट्टै सम्पन्न हुने बताए।
मुलुकमा गणतन्त्र स्थापना भएसँगै सरकारले नारायणहिटी राजदरबारलाई संग्राहलयका रुपमा नामाकरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।