गौशाला- महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा खेलिरहेको अवस्थामा टाउकामाथि पोल भाँचिएर खस्दा एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१, बगडा गाउँ बस्ने मोहनजी यादवका छोरा ८ वर्षीय सिकिन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए।
बालक यादव मंगलबार साँझतिर घरनजिकै रहेको खेतको छेउमा पहिलेदेखि आधा भाँचिएर होड परी बसेको ढलान पोलमा झुला झुलेर खेलिरहेका थिए। सोही क्रममा पोलको माथिल्लो आधा भाग बालकको टाउकोमा झरी उनी गम्भीर घाइते भएका थिए।
तत्काल परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा लगेकोमा उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।