बुटवल- अविरल वर्षाका कारण खसेको पहिराले गर्दा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पाखण्ड अवरुद्ध भएको छ।
राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै गए राति पहाड माथिबाट खसेको ढुङ्गा सहितको पहिराले गर्दा करिब साढे ११ बजेदेखि सडक आवागमन पुनः अवरुद्ध भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
दुई दिनअघि पनि पहिरो खसेर अवरुद्ध भएको सडक शनिबार दिउँसो एकतर्फी खुलेको थियो। सडक अवरुद्ध हुँदा आवतजावत गर्ने सयौँ सवारीसाधन राजमार्गको दुवैतर्फ रोकिएका छन्। दशैँको टीका लगाउन हिँडेका सर्वसाधारण अलपत्र परेका छन्।
अवरुद्ध राजमार्ग खुलाउन बुटवल तथा पाल्पाबाट दुईतर्फ डोजरले काम गरिरहेको भए पनि पहिरो निकै ठूलो भएकाले अझै केही समय लाग्ने प्रहरीले जनाएको छ। केही दिन पहिले पनि सोही नजिकै माथिबाट खसेको ढुङ्गाले एउटा ट्रक र कारलाई च्याप्दा तीन जनाको ज्यान गएको थियो। रासस
–––
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।