काठमाडौं– सरकारले तलब नबढाएको भन्दै कर्मचारीहरु असन्तुष्ट देखिएका छन्। महंगी अनुसार तलब बृद्धि नभएको र पोशाक भत्ताको बृद्धिमा अपुग भएको उनीहरुले बताएका छन्।
निजामती कर्मचारीको आधिकारीक ट्रड यूनियनका अध्यक्ष पुन्यप्रसाद ढकाल तलब पुनरावलोकन गर्ने नाममा सरकारले कर्मचारीलाई झुक्याएको बताउँछन्।
अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५ ७६ को बजेट सार्वजनिक गर्दे तलब पुनरावलोकनका लागि आयोग गठन गरिने जानकारी दिएका थिए।
‘हचुवाको भरमा एक हजार महंगी भत्ता बढाइएको छ, त्यो अपुग छ’ उनले भने,‘पोशाक भत्ता १५ हजार रुपैयाँ पुर्याउन माग गरेका थियौं, १० हजार रुपैयाँ मात्र भयो।’ १० हजारले बढीमा दुई जोर कपडा आउने र एक वर्षमा २ जोर कपडा लगाउन असम्भव हुने उनको भनाई छ।
बीमा एक लाखबाट २ लाख पुर्याएकोमा त्यसले आफुहरुलाई ठूलो फाइदा नहुने उनी बताउँछन्।
महंगी भत्ता एक हजार रुपैयाँबाट २ हजार पुगेपछि अवकाशप्राप्त कर्मचारीको हकमा पेन्सन नबढ्ने भएकाले त्यसमा पनि सरकारले ध्यान नदिएको उनको आरोप छ।
सरकारले महंगी भत्ता एक हजारबाट २ हजार पुर्याएको छ भने पोशाक भत्ता ७५ सयबाट १० हजार पुर्याएको छ।
महंगीअनुसार तलब बृद्धि नभएपछि दबाब दिन आन्दोलन गर्ने र त्यसका लागि संगठनको बैठक बस्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।