काठमाडौं- लेखक नयनराज पाण्डेको नयाँ कृति ‘जियरा’ सोमबारदेखि बजारमा आएको छ। गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिएपनि कोभिड सङ्क्रमितको सङ्ख्या बढेको, मृत्युदर पनि उकालो लागेको र लगत्तै निषेधाज्ञा हुने हल्लाले पुस्तकलाई बजारमा पठाउन नसकिएको प्रकाशक फाइन प्रिन्टले बताएको छ।
असार १ देखि बिहान ११ बजेसम्म पुस्तक पसल पनि सञ्चालन गर्न दिने सरकारको निर्णयपछि पाण्डेको कृति बजारमा पठाइएको हो। निषेधाज्ञाकै कारण कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजार पठाइएको फाइन प्रिन्टका अजित बरालले बताए।
यस सङ्ग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ ओटा लामा कथा समावेश छन्। ‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ। मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु।’
मधेशको पृष्ठभूमिमा लेखिएका कथाहरूको संग्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउने बराल बताउँछन्। पुस्ततको मूल्य ४७५ रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।